मधेश

विज्ञापनको नाममा ३५ लाखभन्दा बढीको ठगी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि ठगिए

सुभाष कर्ण |
साउन ३१, २०८० बुधबार २०:२४ बजे

जनकपुरधाम - काठमाडौँबाट नेपाल भिजिट र येलो नामक पत्रिका प्रकाशन गर्ने भनेर जनकपुुरधामका एक दर्जनभन्दा बढी व्यवसायीको ३५ लाखभन्दा बढी ठगेर सिमरजित सिंह र कविता प्रसाई फरार भएका छन् । 
 
बुधबार पीडित व्यवसायीहरुले पत्रकार सम्मेलन गरी सिंह र प्रसाईले एक दर्जनभन्दा बढी ब्युटिसियन र होटल व्यवसायीहरूको १० हजारदेखि ४ लाखसम्म गरी ३५ लाख ठगेर फरार भएको बताए ।

जनकपुरधामको भ्रमरपुराचौकस्थित बिरयानी हाउसका संचालक रघुनाथ पण्डितको सबैभन्दा बढी ४ लाख रुपैयाँ ठगेका छन् । विज्ञापनसहित पत्रिकाको कार्यालय स्थापना र व्यवस्थापनको नाममा ठगेको उनले बताए । 


पण्डितले पीडा सुनाउंदै भने, सिंह र प्रसाईले विज्ञापन एजेन्सी र पत्रिकाको कार्यालयको लागि ८ लाख रुपैयाँ खर्च लाग्ने भनेर दुवै पक्षबीच सम्झौता भयो । जसमध्ये विभिन्न समयमा ४ लाख रुपैयाँ दिए । त्यसयता उनीहरु फरार भएका छन् । सम्पर्क गर्दा मोबाइल स्वीच अफ छ । केहीदिन पहिला कुरा हुँदा तपाई को हो भनेर अपरिचित जस्तो व्यवहार गरेको उनले बताए । 

प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवै जनाले जनकपुरधामको व्यवसायीलाई ठगेका छन् । केही सोधखोज नै नगरी पत्रिका प्रकाशनको नाममा जथाभाबी रकम दिनु कतिको उचित भन्ने सञ्चारकर्मीको जिज्ञासामा पीडितहरुले भने, अन्तराष्ट्रियस्तरको पत्रिका हो, पत्रकार त झुट बोल्दैन सोचेर हामीले रकम दिएको हौ ।

जउवा संघका उपाध्यक्ष र सचिव पनि ठगिए 
जनकपुरधाम उद्योग बाणिज्य संघकी उपाध्यक्ष एवं जिन्नी ब्युटि पार्लरकी सञ्चालिका दिपिका राय र सचिव फुलदेव पण्डित समेत ठगिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित रायले पत्रिकामा  जनकपुरधामको विषयवस्तु राख्ने भनी बल्याकमेल गरेर विज्ञापनको नाममा आफूसहित अन्य व्यवसायीको ३५ लाखभन्दा बढी रकम ठगेर सिंह र प्रसाई फरार भएको बताइन् । 

‘एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने जस्मा जनकपुरधामको हरेक विषय वस्तु, पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थानसहितका विवरण हुने र सोही पुस्तकमा यहाँहरुको पार्लर र होटलको विज्ञापन पनि प्रकाशन हुने भन्दै उनीहरूले पैसा नसुलेको उनले बताइन् । अहिले उनीहरू फरार छन् । तर न्यायका लागि आफू प्रहरी प्रशासन समक्ष जाने उनले बताइन ।

यस्तै सचिव पण्डितले पनि नेपाल भिजिट भन्ने अन्तराष्ट्रिय स्तरको पत्रिकामा जनकपुरधामका बारेमा छाप्ने भनेको बताए । सो पत्रिकाले जनकपुरधामकै गौरव बढ्ने सोचेर विज्ञापनका नाममा पटक पटक गरी ४५ हजार रुपैयाँसम्म दिए । तर अहिले उनीहरू सम्पर्क विहीन भएका छन् ।

लुमिनस ब्युटिपार्लरकी गिता पौडेलसँग उनीहरूले सापटीसहित १ लाख १० हजार रुपैयाँ लिएका छन् ।  स्थानीय एक महिला पत्रकारको सम्पादनमा पत्रिका प्रकाशन गर्ने भन्नेपछि विश्वास लागेको उनले बताइन् । २ ३ दिन अगाडि सम्म प्रसाँई सम्पर्कमै थिइन् तर अन्तिम दिन पैसा माग्दा तपाईहरुलाई जे गर्नुछ गर्नु सिमरजित को हो चिन्दिन भनेपछि आफूहरु ठगिएको चाल पाएको बताइन् । 

पीडितहरुले न्यायका लागि कानुनी उपचार खोज्ने बताए । जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिने तयारीमा उनीहरू छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x