मधेश

धनुषाका सहायक प्रजिअ केसरीले छलफलमा साहुको तर्फबाट हामीलाई दबाब दिन्छन् : मिटरब्याज पीडित

सुभाष कर्ण |
साउन २९, २०८० सोमबार २१:५७ बजे

जनकपुरधाम- धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरी भ्रष्टाचारी रहेको मिटरब्याजविरुद्धको संघर्ष समितिका केन्द्रीय सदस्य पशुराम यादवले आरोप लगाएका छन् ।

जनकपुरधाममा स्थापना भएको मिटरब्याज पीडितहरूको कार्यालयको उद्घाटन कार्यक्रममा मिटरब्याजविरुद्धको संघर्ष समितिका केन्द्रीय सदस्य यादवले धनुषाका सहायक प्रजिअ केसरीले छलफलमा मिटरब्याज पीडितहरूलाई सहमति गर्न साहुको तर्फबाट दबाब दिने गरेको आरोप लगाए ।


उनले भने, 'सहायक प्रजिअ केसरीले मिटरब्याज पीडितहरूसँग आफू नै साहु महाजन नै जस्तो कुरा गर्छन् । उनको क्रियाकलापले प्रशासन साहु महाजनसँग मिलेको कारण छलफलको क्रममा विभिन्न धाकधम्की दिने कुरा आइरहेकाले कसैसँग डराउन होइन सत्य तथ्यमा आफूले न्याय पाउने गरी कुरामा मात्र सहमति गर्न आग्रह गरे ।'

साथै केन्द्रीय सदस्य यादवले कतिपय मुद्दामा साहु महाजन मात्रै गलत नभई ऋणी समेत पैसा नतिरी आफू तिरिसकेको भन्ने मुद्दा हालेको पाइएको बताए । उनले भने, 'यस्ता घटना धनुषा जिल्लामा बढी रहेको देखिएको छ । धनुषामा ८२ वटा यस्ता फर्जी उजुर छन जसमा ऋणी नै दोषी रहेको कारण त्यो खारेज गरिएको छ ।'

उनले अब ऐन आइसकेकाले ३/४ महिनाभित्रै मिटरब्याज सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्दै अब पुनः आयोगको फरमेटमा निवेदन दिन आग्रह गरे । उनले भने, 'यसअघि हामीले आयोगमा दिएका निवेदन वास्तवमा पीडित छौं/छैनौं भन्ने कुरा यकिनका लागि दिएका थियौं । अब वास्तवमा समस्या समाधानका लागि निवेदन दिनेछौं ।'

ती निवेदनका आधारमा ४ भागमा वर्गीकरण गरी छिनोफानो गरिने बताउँदै उनले पहिलो प्राथमिकता अदालतको आदेशले जेल भोगिरहेका पीडित, दोश्रोमा अदालतमा मुद्दा चलिरहेका, तेश्रोमा ठूला रकमका मुद्दा र चौथो प्राथमिकतामा अन्य साता ऋण रकमको आधारमा समाधान गरिने जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x