मधेश

रकमान्तरमा म मात्रै होइन सम्बन्धित सबै दोषी छन् : मन्त्री यादव

सुभाष कर्ण |
साउन २९, २०८० सोमबार २१:५० बजे

जनकपुरधाम- मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले रकमान्तरमा सम्बन्धित सबै दोषी रहेको बताएकी छिन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमान्तरबारे गरिरहेको अनुसन्धानको पत्रकारहरूको जिज्ञासामा मन्त्री यादवले भनिन्, 'यो कुनै नौलो प्रक्रिया होइन, सरकारले गर्दै आएको परम्परागत प्रक्रिया हो, यसलाई मिडियामा ठूलो इस्यू बनाउनु गलत हो ।'


उनले भनिन्, 'यदि रकमान्तर गर्नु गलत हो भने म मन्त्री मात्रै दोषी होइन, यसमा स्वीकृति दिने अर्थमन्त्रालय, मुख्यमन्त्री कार्यालय, मन्त्रिपरिषद र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालय समेत दोषी हुन् ।' अगाडि थप्दै उनले भनिन्, 'अख्तियारमा उजुरी पर्नु स्वाभाविक कुरा हो, त्यसमा अख्तियारले छानबिन गर्नु उनको दायित्व हो, मन्त्रालयबाट अनधिकारिक रूपमै आफू छानबिनमा सघाउने भनिसकेको छु । यसलाई ठूलो इस्यू बनाउनु गलत हो ।'

रकमान्तरबारे प्रदेश सभा संसदीय छानबीन समेतले छानबिन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७९/०८० मा साविकको उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्री सुनिता यादव र सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद तरिकाले गत वर्ष ४२ करोड बराबरको २६३ वटा नयाँ योजना मन्त्री यादवले संशोधन गरी रकमान्तर गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

मधेश प्रदेशका जिल्लाका लागि सार्वजनिक भएको रेडबूकमा समावेश योजनाको रकम नियमविपरीत रकमान्तर गरी अनियमितता गरेको भन्दै उजुरी परेको हो । त्यस विषयमा अख्तियारले मन्त्रालयसँग छानबिन प्रतिवेदन माग गरेको छ । गत आर्थिक वर्षमा धनुषामा ६९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३६ करोड रुपैयाँको मात्र काम भएको थियो । त्यसमध्ये ३४ करोड रकम भुक्तानी भएर २ करोड रुपैयाँ बाँकी छ । खर्च नभएको झन्डै २४ करोड रुपैयाँ बजेट भने ’सरेन्डर’ भएको थियो ।

मन्त्री यादवले ६९ करोड रकमका सबै योजना टुक्राएर कोटेसनमार्फत काम गराउन दबाब दिएको ती कर्मचारीहरूको भनाई अनुसार विभिन्न मिडियामा समाचार आएको थियो । १० लाख, १५ लाख, २० लाख, ३० लाखदेखि १ करोड रुपैयाँ समेतका कुल ३१८ वटा योजनामा ३६ करोडको काम भएको कर्मचारीहरूको भनाइ छ । 

चालु आर्थिक वर्षमा अधिकांश योजना आफ्नो बुवा रामवृक्ष यादवको नाममा नै राखेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री यादवले आवश्यकतामा आधारमा योजनाहरू राखिएको बताइन । मन्त्री यादवले भनिन्, 'मेरो बुवाको जनयुद्धमा ठूलो योगदान रहेको छ । देशका लागि योगदान पुर्याएका वीपी कोइराला जस्ता कयौं व्यक्तिहरूमा धेरै संस्था स्थापना भएको छ । उहाँको योगदानकै आधारमा विभिन्न योजनाहरू आवश्यकताको आधारमा ल्याइएको हो । सम्बन्धित पार्टीको मन्त्रालय भएपछि केही न केही त झुकाव भई नै हाल्छ ।'

साथै उनले विभिन्न संचार माध्यममा मन्त्री यादव र उनका श्रीमानले कर्मचारीहरूसँग २० देखि ३० प्रतिशत पिसी मागेर परेशान गर्ने गरेको बारे गलत हल्ला फैलाइएको दाबी गरिन् । उनले भनिन्, 'हाम्रो मन्त्रालयको अधिकांश योजनाहरू ईबिडिङ्ग मार्फत काम भएकाले त्यसमा पिसी माग्नु कुरै भएन । आफूलाई बदनाम गर्न विभिन्न किसिमको हल्ला फैलाइएको हो ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x