मधेश

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

सुभाष कर्ण |
साउन २८, २०८० आइतबार १५:६ बजे

जनकपुरधाम- जेष्ठ नागरिकहरूको सम्मानकाे रकम अनियमितता गरेकाे आराेपमा मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

जेष्ठ नागरिकहरूको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिबासले आइतबार दिउँसाे छापा मारेको हो ।
नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले अनुचित कार्य गरेको भन्दै शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरी परेकाे थियाे । वडाध्यक्ष यादवले जेष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रमका लागि छुट्टयाइएको चार लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नै नगरी रकम अनियमितता गरेकाे भनी सो निवेदनमा उल्लेख गरिएको छ ।


त्यस्तै, वडा नं. ९ अन्तर्गत स्ट्रीट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ कमसल काम गरी भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, वैदेशिक रोजगारबाट फर्केका युवाहरूका लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ कार्यक्रम नै नगरी भुक्तानी लिएको, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिंगसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरूकाे सिकाइ उपलब्धिका लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिका लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको उजुरी पत्रमा आराेप लगाइएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x