मधेश

सिके राउतलाई राजनीतिक ज्ञान छैन : कुशवाहा

सुभाष कर्ण |
साउन २७, २०८० शनिबार २०:३३ बजे

जनकपुरधाम- जनमत पार्टीका अध्यक्ष सिके राउतलाई राजनीतिक ज्ञान नरहेको उनकै पार्टीबाट गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट चुनाव लडेका शिवचन्द्र कुशवाहाले बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजबाट जनजागरण अभियान सञ्चालनबाट गरेका कुशवाहाले सिके राउतले आफूसँग २ वटा सहमति गरेकाे तर ती सहमति पूरा नगरी आफ्नै पार्टीका उम्मेदवार आफूलाई हराउन भूमिका खेलेको आरोप समेत लगाए ।


पार्टीमा पद दिने र निर्वाचनमा आर्थिक समेत सहयोग गर्ने प्रतिबद्धता गरे पनि राउतले त्यो पूरा नगरेको उनकाे भनाइ छ । प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिँदै कुशवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव नरहेको कारण पराजित हुन गए ।’

राजनीति ज्ञान नहुँदा निर्वाचनमा बाहिरका व्यक्ति बोलाएर परिचालन गरेर संगठन बनाउनुको सट्टा आफूलाई प्रयोग गरी राउतले आफ्नो नामको प्रचार गर्दा आफूलाई पराजयको सामना गर्नु परेको उनले बताए । उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि कुनै आर्थिक सहयोग नगरी निर्वाचनको नाममा विभिन्न संघ–संस्थासँग आर्थिक सहयोग लिए रकम कुम्ल्याएको आरोप समेत लगाए । 

उनले आफू स्थानीयताको आधारमा निर्वाचनमुखी योजना बनाउन खोजे पनि राउतले आफ्नो तरिकाको बनाएको बताए । 'त्यही पनि अनुशासनमा बसिरहे,' उनले भने, ‘चुनाव हारेपछि यस्तै समीक्षा गर्याैं । त्यहीँ भएर मलाई पार्टीबाट हटाइएको छ ।’ उनले जनमत पार्टी २०८४ भन्दा पहिला नै फुट्ने दाबी समेत गरे ।

कुशवाहा उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । पराजित भएपछि कुशवाहालाई अनुशासनको कारबाही गर्दै सिके राउतले पार्टीबाट निष्कासन गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x