मधेश

सबै क्षेत्रको विकास जरुरी : सहमहामन्त्री यादव

सुभाष कर्ण |
साउन २७, २०८० शनिबार २०:२४ बजे

जनकपुरधाम- सबै क्षेत्रको भिन्न संस्कृतिहरूको विकास र सम्वर्द्धन नहुञ्जलेसम्म नागरिकबीच भाइचारा र देश तथा प्रदेशको पनि हित हुन नसक्ने नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बताएका छन् ।

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघ मधेश प्रदेश कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित जिल्ला सभापतिहरूबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले सबै वर्ग, समुदाय र क्षेत्रको संस्कृतिहरूको समुचित विकास गर्नसके मात्र देशको विकास र समुन्नति हुने बताए ।


नेपाली कांग्रेसले त्यसको अगुवाइ गर्नुपर्ने भन्दै उनले भने, 'देशको, संविधानको र सरकारको पनि सफल नेतृत्व गरेर देखाएको कांग्रेस अब सबै संस्कृतिको संरक्षण र सम्वर्द्धन गरी थप अपनत्वको नेतृत्व गर्नुपर्दछ ।'

कार्यक्रममा प्रदेश सांसद तथा पूर्वमन्त्री राम सरोज यादवले मधेश प्रदेशमै अनेक संस्कृति जनताको पहिचान झल्काउने गरेकाले त्यसको संरक्षण गरेर कांग्रेसले जस लिन सक्नु पर्ने जिकिर गरे ।

कार्यक्रममा उपस्थित पार्टीका जिल्ला सभापतिहरूले पनि प्रदेशको हरेक क्षेत्रको सांस्कृतिक संरक्षकका रूपमा कांग्रेस अगुवाइ लिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सांसद शेषनारायण यादव, जंगीलाल राय, प्रदेश सदस्य जीवनाथ चौधरीसहित महासंघका केन्द्रीय, प्रदेश र जिल्लाका पदाधिकारीहरू, पार्टीका केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेताहरू सहभागिता रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x