मधेश

बिनाविभागीयका लागि मधेशमा मन्त्रालय थपिँदै

सुभाष कर्ण |
साउन २६, २०८० शुक्रबार १०:३९ बजे

जनकपुरधाम। विनाविभागीय मन्त्री सुरिता साहलाई जिम्मेवारी दिन मधेस प्रदेशमा पुनः मन्त्रालय थप्न लागिएको छ । प्रदेश सरकारमा सहभागी हुने दलहरूको संख्या बढेपछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालयको संख्या बढाउने तयारी गरिएकाे हाे ।

चौथो पटक गत जेठ ११ मा मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दा दुई जना मन्त्रीलाई जिम्मेवारीविहीन बनाएको थियो । उनीहरूलाई जिम्मेवारीविहीन बनाएसँगै पूर्णता नपाएको प्रदेश सरकारबाट दुई विभागीय मध्ये एकलाई हटाएर र अर्काेलाई विनाविभागीयमा यथावत राख्दै रिक्त दुई मन्त्रालयमा नयाँ मन्त्री थप्दै गत साउन १५ मा पूर्णता दिइयाे । 


विना विभागीय मन्त्री रहेका वसन्त कुशवाहक र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिलाएर उनको स्थानमा उनकै जनमत पार्टीका प्रमुख सचेत चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री बनाइयो । कुशवाहकसँगै जिम्मेवारीविहीन रहेकी जसपाकी सुरिता कुमारी साहले भने अन्तिम पटक भएको सरकार विस्तारमा पनि जिम्मेवारी पाइनन् । कर्मचारीलाई अतिरिक्त समूहमा राखिए जस्तै मुख्यमन्त्री कार्यालयमा मन्त्रीको रूपमा उनलाई राखियो ।

करिब दुई सातादेखि उनलाई मुख्यमन्त्री कार्यालयमा बस्न टेबुल कुर्सी दिएर व्यवस्थापन गरिएको छ । उनी महोत्तरी २ (ख) बाट स्वतन्त्र लडेर निर्वाचित भएपछि जसपा प्रवेश गरेकी थिइन् । सुरिताले मन्त्री नपाए पार्टी छाडेर जाने  चेतावनी दिएपछि नामकै लागि भए पनि मुख्यमन्त्री कार्यालयमा राखेर अन्यत्र व्यवस्थापन गर्ने सरकारको तयारी रहेको स्रोतले जनाएको छ ।

मन्त्री साहलाई तत्कालै व्यवस्थापन गर्ने कुनै तयारी नगरिए पनि चाँडै नै जिम्मेवारी दिने तयारी सरकारकाे रहेकाे मुख्यमन्त्री  यादवले बताए । मुख्यमन्त्री यादवले भने ‘उहाँको व्यवस्थापन हुन्छ, कुनै मन्त्रालय टुक्राएर हुन्छ कि नयाँ मन्त्रालय नै सिर्जना गरेर हुन्छ वा कुनै मन्त्रीलाई हटाएर भए पनि उहाँको व्यवस्थापन जसरी पनि गरिन्छ । तर, ठ्याक्कै अहिले नै उहाँको व्यवस्थापन हुन्छ भनेर भन्न गाह्रो छ ।’

स्रोतका अनुसार साहलाई व्यवस्थापन गर्न शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाउने मुख्यमन्त्रीको तयारी रहेको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर पहिला जस्तै महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बनाउने तयारीमा मुख्यमन्त्री यादव रहेकाे छ ।

टुक्रयाउन लागि शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जनमतका महेश प्रसाद यादवले सम्हालि रहेका छन । सरकारमा अहिले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी जम्मा १४ जना मन्त्री छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x