मधेश

पोषण समस्याका लागि सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री यादव

सुभाष कर्ण |
साउन ८, २०८० सोमबार २१:४२ बजे

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धी राउण्डटेबल छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा पोषण ठूलो समस्याका रूपमा देखिएकाले यसको समाधानका लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।


उनले भने, ‘पोषण सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ, यसका लागि हरसम्भव प्रयासका लागि प्रतिबद्ध छौं ।’

प्रदेशमा पोषणको स्थिति सुधार कार्यमा सघाउने संघसंस्थासित पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री यादवले जानकारी दिए ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यकतामा जोड दिइन् । 'पोषण अभावमा आमा कमजोर हुँदा शिशु स्वस्थ हुँदैन,' उनले भनिन्, 'त्यसैले आमालाई पनि पोषणको आवश्यकता छ ।'

मानवीय विकास सूचकांकमा पछि परेको मधेश प्रदेशको विकासका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने धारणा राख्दै मधेश प्रदेशमा स्वास्थ्यको अवस्था सुधार गर्न जनसंख्याका आधारमा बजेट विनियोजन गर्नुपर्ने उनकाे भनाइ छ ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई संघीय सरकारले ओझेलमा पारेको टिप्पणी गरे । त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले केही दिनभित्रै मधेश प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा हुने जानकारी दिए ।

प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले बताए । सो अवसरमा पोषण सम्बन्धी राष्ट्रिय योजना आयोगको तर्फबाट डा. किरण रुपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी लगायतले प्रस्तुतीकरण गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x