मधेश

रेलवेको सेवा विस्तार : अब जयनगरदेखि बिजलपुरासम्म चल्ने

सुभाष कर्ण |
असार ३१, २०८० आइतबार २०:९ बजे

जनकपुरधाम- भारतीय सीमा जयनगरदेखि महोत्तरीको भंगहा बिजलपुरासम्म नेपाल रेलवेको सेवा विस्तार भएको छ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महोत्तरीको भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका छन् । दिउँसो १ः३० बजे भंगाहा रेल्वे स्टेसनमा मन्त्री ज्वालाले हरियो झण्डा देखाएर थप रेल सेवाको शुभारम्भ गरेका हुन् ।


उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले रेल्वे सेवाको विस्तारले यस क्षेत्रको जनतालाई विश्वासिलो तथा भरपर्दो यातायातको सेवा उपलब्ध भएकोमा खुसी व्यक्त गर्दै यसले यस भेगका जनताको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप जनकपुरबाट पश्चिम १७ किलोमिटर भंगाहा नगरपालिकाको बिजलपुरासम्म सेवा विस्तार भएको हो । जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमीटर सञ्चालन हुँदै आएको रेल सेवा वर्षौंपछि पुनः महोत्तरीको भंगाहाको बिजलपुरासम्म सञ्चालनमा आएपछि सो क्षेत्रका जनताहरू खुसी देखिएको छ । 

महोत्तरीको भंगाहाको बिजलपुरासम्म रेल सेवा विस्तार गर्नका लागि रेललाई नयाँ बेहुली झैँ सिँगारिएको थियो । ब्रोडगेज रेल हेर्न स्थानीयहरूको ठूलो घुइँचो लागेको थियो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको क्षेत्र भारतको इर्कान कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो । सुरुमा दुई पटक मात्र सेवा दिने गरेको रेल सेवा गत मंसिरमा विवाह पञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चार पटकसम्म सेवा दिँदै आएको थियो । अब सोमबारदेखि भने थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिएका छन् । भंगाहा स्टेशनबाट साँझ र बिहानी गरी मात्र दिनको दुई पटक सेवा दिने कम्पनीले जनाइएको छ ।

उद्घाटन समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री गोविन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह, भारतीय राजदूतावासका प्रतिनिधि लगायतको सहभागिता थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x