मधेश

टिकटक बनाएको निहुँमा दुर्गामाथि हत्याको प्रयास

सासू, ससुरा, श्रीमान् र देवरविरुद्ध उजुरी

सुभाष कर्ण |
असार १८, २०८० सोमबार २१:६ बजे

जनकपुरधाम- टिकटक बनाएको निहुँमा जनकपुरधामकी एक महिलालाई आफ्नै परिवारका सदस्यले विष खुवाएर हत्या गर्ने प्रयास गरेको पाइएकाे छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक निवासी बेचन यादव र उनका परिवारका सदस्यले आफ्नी २१ वर्षीया बुहारी दुर्गादेवीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेको बताइएको छ । 

विष सेवन गरेको भनी असार १० गते राति २ बजेतिर दुर्गाका पति रामबाबु र देवर सुनिलले सिकिस्त अवस्थामा अस्पताल पुर्याएका थिए । तर, होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छिन् ।


ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गरेको बताउँदै दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितो तरल पदार्थ जबर्जस्ती खुवाएको थियो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आफूलाई आईसीयूमा पाएँ ।’

गत वर्ष ४ वैशाख वैवाहिक बन्धनमा बाँधिएकी दुर्गाको एक चार महिने छोरा छन् । बिहे भएर आएदेखि नै ससुरा बेचन र सासू लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ छ । सासूले आफ्नो छोरी निर्मलालाई छोरा दिन दबाब दिँदै आएको र नदिएपछि हत्या प्रयास गर्दै आएको उनले बताइन् ।

जनकपुरधामस्थित कृष्णा नर्सिङ होममा चार दिन आईसीयूमा उपचारपछि शनिबार जनरल वार्डमा सारिएकी दुर्गाको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकले बताएका छन् ।
उता दुर्गाको माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासू लक्ष्मीनिया, पति रामेश्वर र देवर सुनिलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए । उनले दुर्गालाई जबर्जस्ती विष खुवाइएको प्रमाणित भए दोषीमाथि कानुन बमोजिम कारबाही हुने बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x