मधेश

जनप्रतिनिधिको आन्तरिक विवादले मिथिला नपाको नगरसभा अनिर्णित

सुभाष कर्ण |
असार १५, २०८० शुक्रबार २०:३६ बजे

जनकपुरधाम- जनप्रतिनिधिबीचको आन्तरिक विवादले धनुषाको मिथिला नगरपालिकाले अहिलेसम्म नगरसभा गर्न सकेको छैन । असार १० गतेभित्र स्थानीय तहले नगर सभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि जनप्रतिनिधिबीचको आन्तरिक विवादले ५ दिन बितिसक्दा पनि नगरसभा गर्न सकेको छैन । 

एमालेबाट निर्वाचित उपप्रमुखसहित जनप्रतिनिधिको अवरोधका कारण नगर सभा गर्न नसकिएको नगरप्रमुख महेन्द्र महतोले बताएका छन् ।


मिथिला नगरपालिकामा एमालेको बहुमत छ । नगर कार्यपालिका बोर्डको २१ सदस्यीय कार्यपालिकामा एमालेको सबैभन्दा बढी उपप्रमुखसहित १० जना नगरसभा सदस्य छन्, भने नेपाली कांग्रेसको नगरप्रमुखसहित ५ जना नगरसभा र नेकपा एकीकृत समाजवादीसहित अन्यबाट ६ सदस्य रहेका छन् ।

नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका जनप्रतिनिधि सहभागी भए पनि हस्ताक्षरबिनै बैठक छोडेर गएपछि नगरसभा नै बस्न सकेको नगरप्रमुख महतोले बताए । नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास गराउन गत जेठ १७ र असार ३ गते बैठक डाकिएको थियो तर त्यसमा यी दुई दलका जनप्रतिनिधि सहभागी नै नभएको नगरप्रमुख महतोको भनाइ छ ।

नगरप्रमुखको बैठक डाकेर सबै जनप्रतिनिधिलाई छलफलमा बोलाउने प्रयास विफल भएपछि अन्ततः फेरि गत १२ गते बैठक डाकियो तर एमालेको अवरोध कायमै रह्यो । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ ।

नगरप्रमुख महतोले भने, ‘तीन पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौं । तर, तीनै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएर सहयोग गर्नुभएन । केन्द्रमा नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा सहभागी छ, तर हाम्रो नगरपालिकामा कस्तो विडम्बना छ त्यो दललाई एमालेले काखी च्यापेर अगाडि बढिरहेको छ ।’

गत आर्थिक वर्षमा मिथिला नगरपालिकामा रहेका ११ वटै वडालाई समान १ करोड १० लाख बजेट वडाध्यक्षहरूलाई उपलब्ध गराइएको थियो । त्यसअघि एमालेकै नगरप्रमुख हुँदा पनि यति बजेट नदिने गरेको दाबी गर्दै नगरप्रमुख महतोले बजेट पर्याप्त मात्रामा उपलब्ध गराउन आफू तयार भए पनि एमालेको अवरोधको तुक आफू बुझ्न नसकिरहेको बताए ।

यता मिथिला नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष वीरेन्द्र महतोले नगरप्रमुखले नीति तथा कार्यक्रम पास गराउने वातावरण नै बनाउन नसकेपछि बजेट अझैसम्म आउन नसकेको आरोप लगाए । उनले आफूहरूको माग नीति तथा कार्यक्रम पारदर्शी रूपमा तयार नपारिएसम्म एमालेका कुनै पनि जनप्रतिनिधि छलफलमा सहभागी समेत नहुँदा नगरसभा अनिर्णयको बन्दी बन्दै गएकाे बताए । 

मिथिला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि झण्डै ८० करोड बराबरको बजेट ल्याउने लक्ष्य लिएको छ । यद्यपि समयमै नगरसभा हुन नसकेकाले त्यसमा केही कमी आउने नगरपालिकाले जनाइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x