मधेश

मधेशका सभामुखले धान रोपेर मनाए दिवस

सिँचाइ अभावमा मधेशमा मात्र ८ प्रतिशत धान रोपाइँ

सुभाष कर्ण |
असार १५, २०८० शुक्रबार २१:५१ बजे

जनकपुरधाम- प्रत्येक वर्ष झै यस वर्ष पनि असार १५ धनुषामा मनाइएको छ । दिवसको अवसरमा ​मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलसहित विभिन्न पालिकाका प्रमुखहरू खेतखेतमै पुगी धान रोपेर शुभारम्भ आदानप्रदान गरेका छन् । 

मधेश प्रदेशस्थित अखिल नेपाल किसान महासंघ, धनुषाधाम नगर कमिटीद्वारा आयोजित धान रोपाइँ कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले खेतमा धान रोपेका हुन् ।


धनुषाको धनुषाधाम नगरपालिका–८ कुम्हरा टोलस्थित किसान महासंघले आयोजना गरेको कार्यक्रममा सभामुख मण्डल धान खेतमै परम्परागत शैलीमा धान रोप्दै सभामुख मण्डलले भने, ‘कामको थकान महसुस हुन नदिन धान रोप्नेहरू असारे गीत गाउने गर्थे ।' तर, अहिले ती परम्परागत गीतहरू हराउन थालेकाले यसलाई जोगाउन आवश्यक रहेको बताए । 

८ प्रतिशत मात्र धान रोपाइँ 

देशको कुल गार्हस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । धान सबैभन्दा बढी उत्पादन मधेश प्रदेशमा नै हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मधेश प्रदेशकै रहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो वर्ष ४ लाख १ हजार ९१६ हेक्टर क्षेत्रफलमा अहिलेसम्म चैते र बर्खे दुवै मिलाएर १४ लाख ७३ हजार ६ सय ३ मेट्रिक टन धान उत्पादन भएको छ ।

गत वर्ष समयमै धान रोपाइँ भए पनि यस वर्ष समयमा वर्षा हुन नसकेका कारण सिँचाइको अभावमा ८ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । यस वर्ष समयमा पानी नपर्दा अहिले खेतहरू खडेरी अवस्थामा पुगेका छन् । प्रदेशमा ४ लाख १२ हजार १९१ हेक्टर धान खेतीयोग्य जग्गा रहेकोमा सिँचाइ अभावमा धान रोपाइँ हुन सकेको नसके पनि डेढ/दुई महिना अझै बाँकी रहेकाले वर्षात भए धान रोपाइँ हुन सक्ने किसानहरूको आश छ । 

एकातर्फ सिँचाइको अभाव अर्कोतर्फ खाद्य मलको अभावले समेत किसानलाई चिन्तित बनाएको छ । मल खाद्यको आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहे पनि किसानहरू सहज रूपमा कुनै वर्ष मल नपाउने गरेको उनीहरूको गुनासो छ । कृषि सामग्री कम्पनीले मलको अभाव नरहेको दाबी गरे पनि किसानहरूलाई पाउन सहज छैन । 

मन्त्रालयका अनुसार प्रदेशमा बारा जिल्लामा सबैभन्दा बढी धान उत्पादन भएको छ । कुल ५८ हजार २११ हेक्टर खेतीयोग्य जग्गामध्ये सो जिल्लामा २ लाख ३७ हजार ६९० मेट्रिक टन धान उत्पादन भएको हो । 

यस्तै पर्सा जिल्लामा कुल ४७ हजार ५० हेक्टर खेतीयोग्य जग्गामा कुल २ लाख २८ हजार ५६० मेट्रिक टन धान उत्पादन भएको छ । सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा १ लाख ८९ हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको बताइएको छ । सर्लाहीको ४६ हजार ३५० हेक्टर जग्गामा १ लाख ८४ हजार ८७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

धनुषामा ५९ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमो कुल १ लाख ७७ हजार ३३० मेट्रिक टन, महोत्तरीमा ४५ हजार ८३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा कुल १ लाख ६४ हजार ४९९ मेट्रिक टन, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामा धान रोपाइँ गरिएकोमा १ लाख ६२ हजार ४२३ मेट्रिक टन उत्पादन भएको छ ।

यस प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा ३८ हजार ७५० हेक्टर क्षेत्रफलमा १ लाख २८ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x