मधेश

सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन आग्रह

सुभाष कर्ण |
असार १४, २०८० बिहीबार २०:२८ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन आग्रह गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सुर्तीजन्य पदार्थ र गुट्खा बिक्री वितरण बन्द गर्न व्यवसायीहरूलाई संयुक्त रूपमा आग्रह गरेका हुन् ।


नागरिक अधिकार अभियानद्वारा सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पार्ने सचेतनामूलक सम्बन्धी कार्यक्रममा मेयर साहले सुर्ती सेवनले क्यान्सर जस्ता रोग लाग्ने बताउँदै यसबाट बच्न जनचेतनाको खाँचो रहेको बताए । उनले भने, ‘अभिभावकले पनि यसतर्फ ध्यान दिनुपर्छ । अहिले चुरोट सेवन गर्नेहरूको पनि बढोत्तरी भइरहेको छ ।’

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले युवाहरू चुरोट सुर्तीसँगै नशीलो ट्याब्लेट र सुईको अन्धाधुन्ध प्रयोग गर्दै आइरहेको बताउँदै भारतबाट सीमावर्ती शहरमा ल्याएर सेवन गर्दै आएकोले यसको रोकथामका लागि कडाइमा बढोत्तरी गर्नुपर्ने उल्लेख गरे ।

अभियान अध्यक्ष एवं नागरिक समाजका मुरली मनोहर मिश्रको नेतृत्वमा सुर्तीजन्य पदार्थ र गुट्खा अस्पताल, शिक्षालय, देवालयको २०० मिटरभित्र बिक्री वितरण बन्द गर्न जनचेतना अभियान सञ्चालन गरेको छ । उनले सो कार्यक्रमको क्रममा मेयर साह र प्रमुख जिल्ला अधिकारी दाहाललाई शिक्षा सुधारका लागि ज्ञापनपत्र समेत बुझाए । 

कार्यक्रममा रा.रा.ब. क्याम्पसका स्ववियु सभापति मनिष यादव, नेविसंघ धनुषाका सभापति सुजितकुमार यादव, अमरकुमार साह, मनोजकुमार चौधरी, शम्भुनाथ झा, नन्दकिशोर ठाकुर, सोनु झा, उमेशकुमार लगायतहरूको उपस्थिति रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x