मधेश

वडादेखि जिप्रकासम्म नागरिकता लिनेको भिड : कर्मचारीदेखि सेवाग्राहीसम्मलाई के-के छन् डर ?

तीन दिनमा २१५ जनालाई वितरण, ३ हजार ७ सय फाइल पेन्डिङमा

सुभाष कर्ण |
असार १३, २०८० बुधबार १०:६ बजे

जनकपुरधाम- संशोधित नागरिकता ऐनअनुसार  जन्मका आधारमा नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन थालेपछि स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालय कार्यालयसम्म दिनहुँ भिड बढदै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले दैनिक १ सयको हाराहारीमा टोकन गरेपनि स्थानीय तहबाट सिफारिस लिएर टोकन लिन र नागरिकता बारेमा बुझ्नका लागि ठूलो सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेकाले जिल्ला प्रशासन कार्यालयमा भिड बढ्ने गरेको छ ।


जिल्ला प्रशासन कार्यालय मात्रै होइन स्थानीय तहका वडाहरूमा समेत ठूलो संख्या भिड बढ्ने गरेको छ । खासगरी एउटा नागरिकतामा नाता प्रमाणितका लागि ६/७ जनासम्म र अपुग कागजात पूरा गर्न घण्टौँसम्म कुर्नुपर्ने भएकाले भिड बढी देखिने गरेको वडाध्यक्षहरू बताउँछन् ।

सिफारिस लिएर आउनेको संख्या बढी र जनशक्ति कम भएको र अन्य सेवापनि दिई रहनुपर्ने भएकाले नागरिकता वितरण तिव्रगतिमा काम हुन नसकेको कारण पनि भिड रहने गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

धनुषा जिल्लामा पछिल्लो पटक नक्कली नागरिकता, कर्मचारी झुक्याएर फर्जी नागरिकता बनाउनेलगायतका गलत क्रियाकलाप भएकाले नागरिकता संवेदनशील कुरा भएकाले गलत व्यक्ति लिन नपाओस भन्ने विभिन्न कागजात र मुचुल्कालगायत प्रक्रिया पूरा गर्न समय लागे पनि भिड बढिरहेको छ । यदि सामान्य प्रक्रियाले नागरिकता दिन थाले भने भिड झन बढ्थे जसलाई व्यवस्थापन गर्नै मुस्किल हुन्थ्यो ।

यता स्थानीय सेवाग्राहीहरूले कर्मचारी र वडाध्यक्ष विभिन्न बहाना बनाएर काममा ढिलासुस्ती गरिरहेको कारण भिड बढेको बताउँछन् । जनकपुरधाम ४ का स्थानीय विनोद साहले भने तीन दिनदेखि दौडिरहेको छु । तर अहिलेसम्म वडाबाट सिफारिस त के फाइल दर्तासम्म भएको छैन । 'पहुँच भएका र विचौलियाको माध्यमबाट गएकाहरू नागरिकता पनि पाइसके तर आफू धाइरहेका छौँ, खोई कहिले आउला पालो ?' उनले प्रश्न गरे ।

शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रबाट सिफारिस आउने गरेको बताउँदै प्रजिअ दाहालले आजदेखि जनकपुरधाम उपमहानगरपालिका, क्षिरेश्वरनाथ र मिथिला नगरपालिकाबाट पनि सिफारिस बढ्न थालेको बताए । उनका अनुसार मंगलबारसम्म २ सय १५ वटा नागरिकता वितरण गरिसकिएको छ भने ३ हजार ७ सय जति सिफारिस भएर आएका फाइल जम्मा भइसकेको छ भने दैनिक एक सय टोकन वितरण गर्ने गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाबाट वडा नम्बर तीन दिन मुस्किलले एक सय सिफारस गरिएको छ जसमा बढी ग्रामिण वडाको रहेको बताइको छ । वडा नम्बर ४ बाट १२/१३ वटा मात्रै सिफारिस गरेर जिप्रका पठाइएको वडाध्यक्ष सुरेश झाले बताए । कर्मचारी आभाव र नागरिकता संवेदनशील कुरा भएको कारण नाता प्रमाणित, बसाई सराई, जन्म मिति सिफारिस  र मुचुल्कालगायतका प्रक्रिया पूरा गर्न एउटै फाइलमा २/३ घण्टासम्म लाग्ने गरेको ढिलाई भइरहेको उनले बताए ।

यस्तै जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार सिंहले कुनै पनि गैरनेपालीले नागरिकता नपाउन् भन्नेतर्फ आफूसचेत भएको बताउँदै व्यक्तिको एकिन गरेपछि मात्र सिफारिस गर्ने गरेको कारण पनि काम सुस्तगतिमा भइरहेको देखिन गएको बताए ।

गलत व्यक्तिले नागरिकता बनाउन नपाओस भन्ने उद्देश्यले वडा कार्यालयहरूले बसोबास प्रमाणित गर्नका लागि कर्मचारी परिचालन गर्नुका साथै तीन जना छिमेकीको सनाखत गराउने काम गरेकाले काममा ढिलाई र भिड बढेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार श्रीवास्तवले बताए ।

नागरिकता दिने क्रम फेरि रोकिने हो कि भन्‍ने त्रासले पनि हतार हतारमा नागरिकता बनाउने प्रयासले पनि सबै वडा कार्यालयहरूमा सिफारिस गराउन पुगेकाले भिड बढेको उनको भनाई छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x