मधेश

आरोपितलाई संरक्षण गर्न प्रहरीद्वारा निषेधाज्ञा अवहेलना

सुभाष कर्ण |
असार १०, २०८० आइतबार २०:५९ बजे

जनकपुरधाम- उच्च अदालतको आदेश कार्यान्वयनमा धनुषा प्रहरी प्रशासनले आरोपितलाई संरक्षण दिन अवहेलना गर्दै आएको देखिएको छ । 

उच्च अदालतले धनुषाको पोर्ताहामा सञ्चालित न्यू उज्वल सप्लायर्स र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि. माथि गैरकानुनी रूपमा कब्जा गरेको रिट सम्बन्धमा जारी गरेको निषेधाज्ञा आदेश कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय ढल्केवरले बेवास्ता गरेको देखिएको हो ।


न्यू उज्वल सप्लायर्सका सञ्चालक सुरेन्द्रकुमार सिंह र लवकुश बालुवा प्रशोधन उद्योग प्रा.लि.का सञ्चालक ज्ञानेन्द्रकुमार सिंहले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफूहरूको फार्म कब्जा गरेका स्थानीय गणेशमान चारनाथ नगरपालिका-८ का अच्छेलाल महतोलगायत व्यक्तिलाई संरक्षण गर्न प्रशासनले अदालतको आदेशलाई अवहेलना गर्दै निषेधाज्ञा कार्यान्वयन नगरेको आरोप लगाए ।

उनीहरूले भने, 'आफूले अच्छेलालसहित आपराधिक समूहका व्यक्तिले हप्ता असुलीको नाममा, ५ लाख रुपैयाँ महिनावारी ट्याक्सका रूपमा नदिए उद्योग व्यवसाय नै चल्न नदिने भनी कब्जा गरेर राखेका सम्पति छुटाउन र शान्ति सुरक्षाका लागि सुरुमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा लिन मानेनन् । पछि हुलाक मार्फत पठाए पनि प्रहरी प्रशासनले कुनै पहल नगरेपछि बाध्य भएर उच्च अदालतमा मुद्दा दायर गर्दा निषेधाज्ञाको अन्तरिम आदेश जारी भयो । तर, सो आदेश कार्यान्वयन नहुँदा पुन: अदालतमा आदेशका लागि निवेदन दियौँ ।'

अदालतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इप्रकालाई आदेश कार्यान्वयनका लागि पत्राचार मार्फत निर्देश दिँदा पनि ती निकायहरूबाट अवहेलना गरिँदै आएको उनीहरूले बताए ।

पत्रकार सम्मेलनमा सुरेन्द्र सिंहले भने, 'आरोपित अच्छेलाल महतो समूहका व्यक्तिहरूले अवैध रूपमा असुल्दै आएको हप्ता असुलीबाट प्रहरी प्रशासनलाई समेत रकम दिने गरेको कारण सुरुमा जाहेरी लिन मानेनन् र अहिले अदालतको आदेश अवहेलना गर्दै संरक्षण दिइरहेका छन् ।' पीडित सिंहद्वय दाजुभाइ हुन् ।

उनीहरूले पोर्ताहामा सञ्चालन गर्दै आएको बालुवा प्रशोधन केन्द्र र सप्लायर्समाथि कब्जा गरी पोर्ताहा निवासी अच्छेलाल महतोको नेतृत्वमा केही व्यक्तिहरूले आफैँ सञ्चालन गर्दै आएका छन् । अच्छेलाल समूहले सञ्चालक सिंहद्वयलाई प्रतिफार्म ५ लाख रुपैयाँको दरले महिनावारी ट्याक्स दिनुपर्ने भन्दै भगाएर आफैँ नक्कली भ्याट बिल छपाएर बिक्री वितरण समेत गर्दै आएका छन् ।

तिनीहरूको आपराधिक कार्यले आजित भई ज्ञानेन्द्र र सुरेन्द्रले जिल्ला प्रहरी कार्यालय पुग्दा सहयोग नभएपछि सप्रमाण अच्छेलाल महतो, उनका छोरा अमित कुशवाहा, किशोरी महतो, लालबाबु महतो र जिल्ला प्रहरी कार्यालय तथा डिएसपी वेदप्रसाद गौतमलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

'अदालतको आदेश अवहेलनाबारे जिप्रका धनुषाका प्रवक्ता समेत रहेका डिएसपी गौतमले अदालतको निषेधाज्ञाबारे राम्ररी बुझ्न पाएको छैन, तर तिनीहरूबीच पार्टनरसीपको विवाद रहेको सुन्नमा आएको छ । प्रजापति भन्ने थरका व्यक्तिसँग तिनीहरूको पार्टनरसीप रहेको छ । तिनीहरूबीचको विवादबारे अदालतमा मुद्दामा चालु अवस्थामा रहेकाले केही गरेको छैन । अब बुझ्छु के हो ?' उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x