मधेश

बिक्री ठप्प पारेर जनकपुरधामका आलुप्याज व्यवसायी आन्दोलनमा

सुभाष कर्ण |
असार १०, २०८० आइतबार १७:३१ बजे

जनकपुरधाम- बजेट भाषणबाट सरकारले तरकारीमा लगाएको मूल्य अभिवृद्धि करको विरोधमा जनकपुरधामका आलुप्याज व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले बढाएको १३ प्रतिशत कर फिर्ताको माग गर्दै आइतबारदेखि आलुप्याज व्यवसायीहरू बिक्री वितरण ठप्प गरी आन्दोलनमा उत्रिएका हुन । भारतबाट आयात हुँदै आएको आलु र प्याज यसअघि नै जेठ १८ गतेपछि आयात रोकेका छन् । 

करका कारण तरकारी महँगाे भएपछि स्थानीय उपभोक्ताहरू भारतीय सीमावर्ती क्षेत्रबाट किनमेल गर्ने गरेको कारण नेपालमा बिक्री वितरण कम हुन गएपछि आफूहरूलाई आन्दोलनमा उत्रिनु परेको आलुप्याज व्यवसाय संघ जनकपुरधामका अध्यक्ष अलाउद्दिन राईनले बताए ।


सरकारले भ्याट लगाएपछि व्यापार गर्न कठिनाइ भइरहेको बताउँदै उनले प्याजमा प्रतिकिलो १३ र आलुमा प्रतिकिलो ८ रूपैयाँ भन्सार तिर्नु पर्दा महँगो हुने भएकाले उपभोक्ताहरू सीमापारी जाने गरेको बिक्री वितरण कम हुँदा गोदाममै सर्ने गरेको कारण आयात रोकिएको उनले बताए । 

करलाई कारण देखाएर व्यवसायीले आयात रोकेर बिक्री वितरण नै ठप्प गरेपछि जनकपुरधाम बजार क्षेत्रमा आलुप्याज महँगिएकाे छ । हाल बजारमा आलुप्याजको मूल्य बढेको बारेमा उनले भन्छन्, 'एकातर्फ कर र अर्कोतर्फ गोदाममै सर्ने गरेको कारण मूल्य बढ्न गएको हाे ।'

अहिले जनकपुरधामको पेठियास्थित तरकारी बजारबाट भारतीय आलुप्याज बिक्री भइरहे पनि यो यसअघि नै आयात भएर बसेको स्टक मात्रै रहेको र नयाँ आलुप्याजको आयात ठप्प रहेकोले बिक्री वितरण बन्द गरिएको उनको भनाइ छ । 

‘बजेटपछि जेठ १६, १७ र १८ गते भारतबाट प्याज आएको थियो, तर त्यसपछि आयात शून्य छ,’ राईनले भने, ‘प्याजको कारोबार नै छैन, त्यही भएर मूल्यसूची पनि राख्न छाडेका छौँ ।’ अब प्याज आउँछ कि आउँदैन भन्ने अन्यौल रहेको उनकाे बताए । 

‘बाहिर महँगो भइसक्यो भन्ने सुनिएको छ, तर प्याजको कारोबार यहाँबाट शून्यमा झरेको छ,’ राईनले थपे, ‘बाहिर अहिले बिक्री भइरहेको प्याज पनि यहीबाट केही दिन अघिसम्म गएको स्टक हो, त्यो सकिएपछि बाहिर पनि नपाउने अवस्था आउन सक्छ ।’

ग्राहकहरू सीमानाकास्थित भारतीय बजार जान थालेपछि व्यापार चौपट भएको र यहाँका व्यापारीहरू लाखौंको घाटामा गएको बताउँदै राईनले कर फिर्तासहित सीमामा पूर्ण रूपमा बन्देज लगाउनु पर्ने समेत गरेका छन् । यसैबीच बजारमा आलुप्याजको अभाव हुँदै गएको छ भने अन्य तरकारीको पनि भाउ बढेको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका हुन् । जेठ १५ गते बजेट प्रस्तुत भएपछि जेठ १६ गतेबाटै यो निर्णय लागू भएको हो । जनकपुरधाम बजारमा १७ वटा थोक बिक्रेतामार्फत दैनिक १५० टन आलुप्याज बिक्री हुँदै आएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x