मधेश

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्ब २८ करोडको बजेट

सुभाष कर्ण |
असार ८, २०८० शुक्रबार १८:२७ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको बजेट ल्याएको छ । जनकपुरधाम उपमहानगरपालिकाको १० औं नगरसभाबाट उपप्रमुख किशोरी साहले आय व्ययसहितको बजेट पेस गरेका हुन् ।

पेस गरिएको बजेटमा चालुतर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात् कूल बजेटको ४९.७८ प्रतिशत तथा पुँजीगततर्फ एसियाली विकास बैंकको बजेटसहित १ अर्ब ९ करोड ८३ लाख ५ हजार २ सय ९० रुपैयाँ अर्थात् कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ ।


बजेटको स्रोतका रूपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य स्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडिबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ५८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३७ लाख ३५ हजार बेहोर्ने उल्लेख छ । 

यसअघि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरलाई सफा, स्वच्छ, सुन्दर र सु–संस्कृतका साथै खेलकुदमा विशेष ध्यान पुर्याइएको बताए । 

यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण गर्दै एक वडा एक उत्पादनमा विशेष रूपमा जोड दिने नगरप्रमुखले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

उनले जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट सहरका रूपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर सभामा शुभकामना दिँदै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रामसरोज यादव, जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x