मधेश

मृतक आरतीकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रेकामाथि लाठी चार्ज

सुभाष कर्ण |
असार ५, २०८० मंगलबार १६:५७ बजे

जनकपुरधाम- मृतक धनुषाकी आरती साहको माइती पक्षले न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 

प्रहरीले हत्या घटनालाई ढाकछोप गर्न लागेकाे भनी मंगलबार पीडित माइती पक्षले जिल्ला अदालत धनुषा अगाडि घेराउ गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले बल प्रयाेग गर्न खाेज्दा मृतक आरतीको माइती पक्षले ढुंगामुढा समेत गरेका छन् । 


ढुंगामुढाका क्रममा प्रहरीले लाठी चार्ज गर्दा चार जना स्थानीय घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट नगराईन नगरपालिका–८ खिरखिरियाकी लिला देवी, लाडोबति देवी, कृष्णा साह र प्रवीण साह घाइते भएका छन् । त्यस्तै गोविन्द साहलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

प्रहरीले अदालत जस्ता संवेदनशील ठाउँमा ढुंगामुढा गरेपछि लाठी चार्ज गर्नु परेकाे बताएकाे छ । यता पीडित पक्षका नगराईन नगरपालिका-७ खिरखिरियाका नवाेनाथ साहले भने आफूहरूकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्दा बचाउका लागि ढुंगामुढा गर्नु परेकाे बताए ।

परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन गर्दै आएका छन् । पीडित परिवारलाई अनुसन्धानकाे बहाना न्याय दिलाउनुकाे सट्टा घटना ढाकछाेप गर्न धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरेका थिए ।

गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहकी श्रीमती २२ वर्षीया आरतीको रहस्यमय मृत्यु भएको थियो ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x