मधेश

मधेश सरकारले अघिल्लाे वर्षभन्दा ११ अर्ब घटी बजेट ल्याउँदै

सुभाष कर्ण |
जेठ २९, २०८० सोमबार १८:३३ बजे

जनकपुरधाम- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि मधेश प्रदेश सरकारले ३५ अर्ब बराबरको बजेट ल्याउने भएको छ ।

अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । सचिव भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए ।


सचिव भट्टराई​का अनुसार चालू आर्थिक वर्षभन्दा ११ अर्ब घटी बजेट ल्याउन लागेको हो । मधेश प्रदेश सरकारले चालु २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाखको बजेट ल्याएको थियो । अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा रहेको र संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घटाउनु परेको उनले बताए ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको उनले जानकारी दिए । उनले चालू आर्थिक वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने जानकारी दिए । 

गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा १८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x