मधेश

धनुषामा बाख्रादेखि माेटरसाइकलसम्म चाेरी, प्रहरीले गर्‍याे २७ आराेपित सार्वजनिक

इकागज |
जेठ १०, २०८० बुधबार १८:२२ बजे

जनकपुरधाम। धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले पक्राउ गर्ने कामलाई तीव्रता दिएको छ । धनुषा प्रहरीले विभिन्न मितिमा चोरी आरोपमा पक्राउ परेका २७ जनालाई बुधबार एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बाख्रादेखि साइकल, मोटरसाइकल, मोबाइल र चापाकल चोरी घटनासम्मका आरोपितहरु रहेका छन्  ।

धनुषा प्रहरीले सादा पोशाकमा चोर पक्राउ गर्नकालागि गस्ती टोली खटाएपछि चालु आर्थिक वर्ष २०७९-०८० मा ४ सय २६ वटा चोरी घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । 


उनका अनुसार जिल्लामा दर्ता भएका ९६ वटा चोरी मुद्दामा पक्राउ परेकालाई कारवाही गरिएको छ भने चोरी घटनामा पक्राउ परे पनि पीडित पक्षले झण्झटिलो कानुनी प्रक्रियाले सामान पाउन नसक्ने देखेर पिडीत पक्षले उजुरी नदिंदा ३ सय ३० वटा अभद्र व्यवहार मुद्दा दर्ता गरी ४ सय जना विरुद्ध अभद्र व्यवहारको मुद्दा गरिएको छ । 

उनले खुल्ला सीमानाकाका कारण लागूऔषध सेवनका लागि गरिब परिवारका तथा बेरोजगार १४ देखि २५ वर्ष उमेरसमूहका युवाहरुले चोरी गर्ने गरेको अनुसन्धानमा देखिएको बताए । उनले भने ‘बेरोजगार र रोजगार भए पनि बाहिरबाट काम गर्न आएकाहरुले पारिश्रमिक नपाउँदा खानलाउन व्यवस्था गर्न र हाईलाईफ स्टाइल जीवन जिउन चोरी गर्ने गरेको समेत देखिएको छ ।’

खुल्ला सीमानाकाकै कारण जिल्लामा चोरीको घटना बढेको कुरामा जोड दिदैं डिएसपी गौतमले भने लागूऔषध सेवन गर्न भारतीय सीमामा जाने र ती लागूऔषधका लागि पैसा व्यवस्था गर्न चोरी गर्ने, यहाँ चोरी गरिएका साइकल, मोटरसाइकल र मोबाइल लगायतका सामान पारी गएर बेच्ने गरेको अनुसन्धानमा देखिएको बताए ।
पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरिएको चोरी आरोपितहरु मध्येका केहीले आफू निर्दोष रहेको भनी जिप्रका भित्र प्रहरी नियन्त्रणमै हो हल्ला समेत गरेका थिए । उनीहरुले आफूहरुले चोरी नगरेको कसैले नाम हालदिएपछि थुनेर राखेको गुनासो गरेका थिए । 

पक्राउ परेका मध्ये रितेश गुप्ताले भने आफू निर्दोष रहेकाे बताएका छन्। आफूलाई घरबाट पक्राउ गरी ल्याएर मोबाइल चोरी आरोप लगाएर प्रहरीले थुनेकाे भन्दै उनले यस्ता आरोपले आफ्नो जीवन नै बरबाद हुने पत्रकार सम्मेलनमै दुखेसो पोखे ।

रितेशको भनाइमा प्रहरी उपरीक्षक विश्वराज खड्काले कुनै पनि चोरले भन्दै आफू चोर रहेकाे स्वीकार नगर्ने बताए । रितेशलाई उनकै बुवाले मोबाइल चोरी गरेको भनेर ल्याएका हुन् । रितेश संगै दमकल चोरी घटनामा पक्राउ परेका ऐलुनसहित आधा दर्जनभन्दा बढीले आफू निर्दोष छु भनेर दाबी गरेका थिए। तिनीहरुले करीब ६/७ मिनेटसम्म हो हल्ला गर्दै गएपछि पत्रकार सम्मेलनमा स्थलमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरी चुप गर्न लगाएका थिए 


Author

थप समाचार
x