मधेश

मधेश स्वास्थ्य आपुर्ति केन्द्रमा स्वास्थ्य उपकरण खरिदमा व्यापक भ्रष्टाचार !

अर्बाै मूल्यका सामग्री प्रयाेगविहीन, उजुरीमा अख्तियारकाे बेवास्ता

सुभाष कर्ण |
बैशाख २४, २०८० आइतबार १९:१९ बजे

जनकपुरधाम । मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेकाे एक अर्ब रूपैयाँभन्दा बढीकाे स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे छ ।

 महालेखा परीक्षक कार्यालयकाे काेभिड १९ यता दुई/तीन वर्षकाे अवधिमा केन्द्रले खरिद एक अर्बभन्दा बढी स्वास्थ्य उपकरण प्रयाेगविहीन बनेकाे हाे । प्रयाेगमा नआउँदा ती उपकरणहरू बिग्रिन समेत थालेकाे छ भने अधिकांश उपकरण जडान नै नभई कवाडीमा परिणत हुन थालेकाे छ ।


काेभिड १९ संक्रमणकाे फाइदा उठाउँदै मन्त्रीदेखि केन्द्रका प्रमुखसम्मले कमिसनकै लागि बिना कुनै औचित्यकाे खरिद गरेका १ अर्ब रुपैयाँभन्दा बढीका स्वास्थ्य उपकरण तथा सामग्रीहरू प्रयाेगविहीन भई  खराब हुन थालेकाे आराेप लाग्दै आएकाे छ ।

केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ५० करोड ७८ लाख ८२ हजार रुपैयाँका स्वास्थ्य उपकरण खरिद गरेको हाे। जुन उपकरणहरू जडान नै नभई थन्काइएकाे छ । 

 महालेखाले आफ्नाे प्रत्येक प्रतिवेदनमा औचित्य नै नभएका उपकरण खरिद गर्नुकाे कुनै अर्थ नरहेकाले सचेत गराउँदै आएपनि केन्द्रका पदाधिकारीहरूले कमिसनका खरिद गर्दै थन्काउंदै आएकाे आराेप लाग्दै आएकाे छ ।

एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री सराेज यादवले बिना कुनै औचित्य र मागकाे आधारमा मन्त्रीदेखि कर्मचारीसम्मले कमीसनका लागि खरिद गरेकाे आराेप लगाए । 'आफ्नाे पार्टीका सांसदहरूले सुरूदेखि नै छानबिनकाे आवाज उठाउँदै आएकाे छ । अब बस्ने संसदीय बैठकमा समेत आवाज उठाउनेछु ।' उनले भने ।

केन्द्रले गत आ.व. ०७८/७९ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि विशेष परिस्थितिजन्य कारण देखाएर ३ करोड ७२ लाख ५० हजार रुपैयाँको अक्सिजन प्लान्ट र ट्यांक खरिद गर्‍याे तर जडान नभई जनकपुरधामकाे काेभिड विशेष अस्पतालकाे प्रांगणमा बेवारिसे झै फ्याँकिएकाे छ । जबकि प्रतिष्ठानले विगतदेखि रहेको अर्को एक अक्सिजन प्लान्ट समेत उपयोगमा ल्याउन सकेकाे छैन ।

त्यसैगरी सप्तरीको भारदह, रौतहटको गौर, सिरहाको सिरहा, लहान लगायत विभिन्न ६ अस्पतालहरूमा हस्तान्तरण भएका २ करोड ६६ लाख ६८ हजार रुपैयाँका १६ थान हेमोडाइलाइसिस मेसिन पनि जडान नै नभई प्रयोगविहीन अवस्थामा रहेकाे छ। गौर अस्पतालमा एच.बी.ए वानसी मेसिन, सिरहा अस्पतालमा पूर्ण स्वचालित क्लिया मेसिनसहित प्रादेशिक अस्पताल जनकपुरधाममा हस्तान्तरण भएका डीआर एक्सरे मशिन प्रयोगविहीन भई थन्किएका छन् ।

यस्तै स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गर्न खरिद भएका १ करोड २४ लाख २ हजार रुपैयाँका पूर्ण स्वचालित हेमाटोलोजी एनालाइजर, इलेक्ट्रोलाइट मेसिन र ल्याप्रोस्कोपी सर्जरी सेट नगरी केन्द्रमै थन्काएर मौज्दात राखिएको छ ।

लहान अस्पतालका लागि केन्द्रले गएकाे वर्षमा खरिद गरेकाे ५० लाखभन्दा बढीकाे ३ थान हेमोडाइलाइसिस मेसिन र करिब एक कराेड रूपैयाँ बराबरकाे २ थान इन्टिग्रेटेड वेस्ट म्यानेजमेन्ट सिस्टम मेसिन हस्तान्तरण गरिएपनि अस्पतालले जडान नगरी थन्क्याएर राखेको छ । 

आर्थिक वर्ष ०७८/७९ मै केन्द्रले सप्तरीको भारदह अस्पतालमा २ करोड ५८ हजार रुपैयाँको हेमोडाइलाइसिस मेसिन, बायोकेमेस्ट्री एनालाइजर, अक्सिजन कन्सनट्रेटर लगायतका १३ उपकरण खरिद गरी  दिएकाेमा हालसम्म जडान गरिएको छैन ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम अन्तर्गतको कोभिड अस्पतालका लागि केन्द्रले १८ करोड ३८ लाख ६१ हजार रुपैयाँको आईसीयू बेड खरिद गरी दिएकाेमा ती उपयोगमा आएको छैन ।

प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रमा तात्कालीन प्रमुख डा. प्रमोदकुमार यादवले मोटो रकम कमिसन पाउनकै लागि त्यसरी सामान खरिद गरेको पाइएको महालेखाकाे प्रतिवेदनबाट पुष्टि हुन्छ । उसाे त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै दर्जनौं उजुरी छन्, तर हालसम्म कुनै पनि चासाे लिइएकाे छैन ।

प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक राजीव कुमार झाले ती उपकरण थन्किन गएकाे खरिद गर्नुपर्ने औचित्य नै नरहेकाे वा कमीसनकाे लागि खरिद गरिएकाे हाे भन्ने कुरा भन्न मिल्दैन बताए । उनले महालेखाले प्रयाेगविहीन रहेकाे भनेका सामग्रीहरू काेभिड १९ संक्रमणकाे बेला आवश्यकताका आधारमा खरिद गरी हस्तान्तरण गरिएकाे र अहिले काेभिड नभएकाे कारण थन्किन गएकाे बताए । 

कतिपय अस्पतालका उपकरण जडान नै भएनन् । प्रादेशिक अस्पतालमा एक आक्सिजन प्लान्ट जडान नहुँदै अर्काे किनिएकाे बारे झाले आस्पतालबाट माग भएर आएपछि खरिद गरेर दिएकाे बताउँदै जडान गरे/नगरे, प्रयाेगमा आए/नआए बारे सम्बन्धित अस्पतालले नै जवाफदेही हुनुपर्ने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x