मधेश

मधेसमा लागु औषधको कारोबार बढ्दो : ट्रान्जिट प्वाइन्ट वीरगञ्ज

सुभाष कर्ण |
बैशाख १८, २०८० सोमबार १३:५८ बजे

फाइल फोटो

जनकपुरधाम - मधेश प्रदेशमा अवैध लागु औषध कारोबार दिनानुदिन बढ्दै गएको छ । मधेसका ८ वटै जिल्लामा लागु औषध कारोबार भएपनि ट्रान्जिट प्वाइन्ट प्रदेशका आर्थिक राजधानीको रुपमा चिनिएका वीरगञ्ज रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको तथ्यांकअनुसार अवैध लागु औषध कारोबार तथा सेवन सम्बन्धी मुद्दा दर्ता, लागु औषध बरामद, त्यसमा संलग्न व्यक्ति पक्राउ सहितको बढी संख्या पर्सा जिल्लामा रहेको छ । पर्सामा पनि वीरगञ्जमा यसको उल्लेख्य गतिविधि हुने प्रहरी तथ्यांकमा उल्लेख छ ।


देशका प्रमुख नाका मध्ये एक रहेका वीरगञ्ज नाका खुल्ला र फराकिलो क्षेत्र भएका कारण बढी लागु औषध कारोबार भइरहेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्र कुमार श्रेष्ठ पनि लागु औषध कारोबार सम्बन्धी परेको मुद्दाको ट्रान्जिट प्वाइन्ट पर्साको वीरगञ्ज नै रहेको बताउँछन् ।

उनले भने ‘हुनत प्रदेसको ८ वटै सीमा नाकाबाट लागु औषधको कारोबार भइरहेको छ । तर प्रदेसकै सबैभन्दा ठूलो व्यापारिक सीमाना, तस्करी क्षेत्र, आर्थिक कारोबार क्षेत्र भएको हुनाले हामीले ट्रान्जिट क्षेत्र मानेर नै बढी निगरानी सर्तकता अपनाएका छौं ।’

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसहित गत तीन वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय पर्सामा ५ सय ५३ वटा मुद्दा लागु औषधसम्बन्धी मुद्दा दायर भएको छ । अन्य जिल्लाहरु मध्ये सिराहामा ४ सय ५१, सप्तरीमा २ सय २८, धनुषामा १ सय ९४, महोत्तरी २ सय ४५, सर्लाही २ सय ९८, रौतहट ८४, बारा १ सय ८८ वटा अवैध लागु औषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लागु औषध कारोबारमा संलग्न भएको आरोपमा सबभन्दा बढी पर्सा जिल्लाबाट ९ सय २० जना पक्राउ परेका छन् । आ.व. २०७७/०७८ मा १८१, आ.व. ०७८/७९ मा ३१९ र चालु आ.व. ०७९/८० को फागुन महिनासम्म मात्रै ४ सय २० जना पक्राउ परेको छ । ती मध्ये अधिकांश वीरगञ्ज सीमा क्षेत्रको आसपासबाट पक्राउ परेको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरीको तथ्यांक अनुसार चालु आ.व. सहित गत तीन वर्षको अवधिमा लागु औषधतर्फ पर्साबाट २ हजार ९ सय २३ किलोग्राम बरामद भएको छ । सबभन्दा आ.व. ०७८/७९ मा १ हजार ३ सय ५९ किलोग्राम बरामद भएको छ । अन्य जिल्लाहरुतर्फ सप्तरीबाट १ हजार ७३, सिरहाबाट ७ सय ५३, धनुषाबाट ९ सय ४६, महोत्तरीबाट ८ सय ९६, सर्लाहीबाट २ हजार ४९, रौतहटबाट ४सय ७२, बाराबाट २ हजार १६ किलोग्राम बरामद भएको हो ।

लागु औषध ट्याबलेट, बोतल र इन्जेक्सन समेत गरी आ.व. ०७७/७८ मा १ लाख २ हजार १ वटा, आ.व. ०७८/७९ मा १ लाख २३ हजार २४८ वटा र चालु आ.व.को फागुन मसान्तसम्म १ लाख १ हजार २२८ गरी कूल ३ लाख २६ हजार ४७७ वटा प्रदेशको ८ वटै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेका छन् । ती मध्ये पर्सा जिल्लाबाट मात्रै ९६ हजार २८ वटा रहेको छ । प्रहरीको तथ्यांक अनुसार पर्साको वीरगंज सहित अन्य क्षेत्रबाट आ.व ०७७/७८ मा ३० हजार २८५ वटा, आ.व. ०७८/७९ मा २५ हजार ६४७ वटा र चालु आ.व.को फागुन मसान्तसम्म  ४० हजार ९६ वटा बरामद गरिएको हो ।

गत तीन वर्षको अवधिमा अन्य जिल्लातर्फ सप्तरीबाट २२ हजार ६ सय ७४, सिरहाबाट ५४ हजार ३ सय ८५, धनुषाबाट १६ हजार ३ सय १६, महोत्तरीबाट ३४ हजार २ सय ५१, सर्लाहीबाट ३८ हजार ४ सय ५८, रौतहटबाट ३० हजार ८ सय १०, बाराबाट ३५ हजार ७ सय ८६ वटा बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै चरेसतर्फ चालु आ.व. सहित तीन वर्षको अवधिमा कूल २९२ किलो ३३० ग्राम बरामद भएका मध्ये पर्सा जिल्लाबाटै मात्रै २०९ किलो ७८ ग्राम रहेको छ । अफिम समेत बरामद भएका ३२ किलो ९३० ग्राम पुरै पर्सा जिल्लाबाट गत दुई आ.व. मात्रै २० किलो ६३० ग्राम बरामद भएको हो । ५९५ ग्राम बरामद भएका हिरोइन मध्ये पर्साबाट ५३० ग्राम बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

एक तथ्यांकका अनुसार नेपालमा विभिन्न लागु औषध दुव्र्यसनीहरूको संख्या एक लाखभन्दा बढी रहेको छ । स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्करी गर्ने प्रयोग गर्दै आएका छन् भने गाजा, चरेस, तरल चरेस नेपालबाटै भारत, युरोप, अमेरिकाको बजारमा र भारतबाट ट्याबलेट, बोतल र इन्जेक्सन लगायतका तस्करी हुँदै आएको छ ।

कोकिन, चरेस, हिरोइन र अफिम सहितका लागु औषध महँगा भएकाले यहाँ सेवनकर्तामा कमी भएपनि गाँजा नेपालबाट भारत र ट्याबलेट, बोतल र इन्जेक्सन सहित लागु औषध भारतबाट नेपाल तस्करी हुँदै आएको अहिलेसम्मको अनुसन्धानमा देखिएको प्रदेश प्रहरीको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x