मधेश

विकास निर्माण तथा सेवा प्रवाहबारे तीन तहका सरकारबीच अन्तरक्रिया

सुभाष कर्ण |
बैशाख १५, २०८० शुक्रबार २०:१४ बजे

जनकपुरधाम- धनुषा जिल्लाको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सरोकारवाला निकायको सहभागितामा जनकपुरधाममा अन्तरक्रिया भएको छ ।

तीनै तहका सरकारका प्रतिनिधिहरूको सहभागितामा भएको अन्तरक्रियामा सरकारी कार्यालयका प्रमुखहरू, प्रदेश सभाका सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरूले आआफ्ना धारणा राखेका छन् ।


धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको संयोजकत्वमा भएको सो कार्यक्रममा विभिन्न सरकारी निकायहरूले गरिरहेको सेवा प्रवाह, विकास निर्माण तथा समस्याका बारेमा छलफल भएको जनाइएको छ । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रशासन तथा जनप्रतिनिधिका बीचमा भएको उक्त अन्तरक्रियाले विकास निर्माण एवं सेवा प्रवाहको विषयमा समस्याको पहिचान र समाधानबारे ठोस निर्णय आउने बताए ।

उनले कुनै पनि देशको विकासका लागि मानवीय जनशक्तिको विकास आवश्यक भएको बताउँदै राजर्षिजनक विश्व विद्यालयको स्थापना पनि सोही उद्देश्यले भए पनि हाल समस्या जुधिरहेकाले विद्यमान समस्या समाधानतर्फ लाग्न सरोकारवाला निकायलाई सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका नेत्री एवं धनुषा ३ की प्रतिनिधि सभा सदस्य जुलीकुमारी महतोले यस्ता प्रकारका वृहत् सहभागितासहितको अन्तरक्रिया कार्यक्रमले जिल्लाको विकास निर्माण तथा समस्याको समाधानमा ठूलो मद्दत पुग्ने बताइन् । यस्तै प्रदेश सभा सदस्य दीपक ठाकुरले प्रशासनिक निकाय र जनप्रतिनिधिबीच विकास निर्माणका लागि गरिएको संवादले आउने निष्कर्षले देखिएका समस्या समाधानबारे निकास आउन सक्ने धारणा राखे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x