मधेश

वरिष्ठ उपाध्यक्ष पोखरेलकाे आराेप : देश आर्थिक संकटमा फस्नुको दोषी वर्तमान सत्ता गठबन्धन

सुभाष कर्ण |
बैशाख १४, २०८० बिहीबार १७:११ बजे

जनकपुरधाम- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश आर्थिक संकटमा फस्नुको प्रमुख दोषी वर्तमान सत्ता गठबन्धन रहेको आरोप लगाएका छन् । 

महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा सहभागी हुन गइरहेको बेला जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार गिराउने र बनाउने खेलमा लागेका सत्ता गठबन्धनका कारण देश आर्थिक संकटमा फसेको बताए ।


'गठबन्धनको सरकार बनाउने फोहोरी राजनीतिका कारण विकास निर्माणको काम अवरुद्ध भएको छ भने अर्थमा विचलनलाई आई चलायमान हुन सकिरहेको छैन,' पोखरेलले भने, ‘एमाले नेतृत्वले सरकारले छाडेको सुनकोशी मरिन डाइभर्सन, हुलाकी राजमार्ग लगायतका दर्जनौँ विकासको काम ज्यूँका त्यूँ नै छ । बैंक र बजारमा पैसा अभावले अर्थ चलायमान अवस्था छैन ।’

नेकपा एमाले सरकार भत्काउने र निर्माण गर्ने जस्ता खेतिपातीमा नलागेको पोखरेलले दाबी गरे । सरकार बनाउने र भत्काउने खेतिपातीमा वर्तमान सत्ता गठबन्धन लागे पनि एमाले परस्थिति अनुसार आफ्नो निर्णय गर्ने उनकाे भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष​ पोखरेलले यो गठबन्धन मुलुकका लागि दुर्भाग्य रहेको पनि टिप्पणी गरे । 'वर्तमान गठबन्धन लोकतन्त्रको हितमा छैन,' पोखरेलले भने, ‘यो गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाइरहेको छ । संविधानको हितविपरीत काम समेत गरिरहेको छ ।’

वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि गठबन्धनमा फेरबदल वा टुट्न सक्ने अवस्थाको सिर्जना हुन सक्ने बताउँदै पोखरेल परिस्थिति अनुसार एमालेले आफ्नो भूमिका स्पष्ट पार्ने बताए । उनले भने, ‘यो गठबन्धन टिकाउ छैन, के परस्थिति सिर्जना हुन्छ त्यस अनुसार नै हाम्रो भूमिका हुन्छ यद्यपि सरकार बनाउने र बिगार्ने खेतिपातीमा हामी छैनौं ।’

वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताउँदै पोखरेलले भने, 'एमाले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व गरिरहेकाे छ भने वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत देश डुबाउने खेलमा लागेको छ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x