मधेश

मधेश प्रदेशमा ६० प्रतिशत पाठ्यपुस्तक वितरण

सुभाष कर्ण |
बैशाख १२, २०८० मंगलबार २०:५४ बजे

जनकपुरधाम- पछिल्ला वर्षमा महिनौँसम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूले पुस्तक नपाउने अवस्था यस वर्ष भने टरेको छ ।

नयाँ शैक्षिक सत्रको सुरुवातमै मधेश प्रदेशका जिल्लाहरूमा ६० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक जनक शिक्षा सामग्रीले वितरण गरिसकेको छ । मधेश प्रदेशका ७ जिल्ला र ओखलढुंगा, खोटाङ, उदयपुर तथा सिन्धुली जिल्लामा चैत २६ गतेदेखि वितरण भइरहेको हाे ।


पहिलो चरणको चैत २६ देखि वैशाख ९ गतेसम्म कक्षा ४ सम्मको पाठ्यपुस्तक वितरण गरिसकिएको र दोश्रो चरणमा कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक आइसकेकाले वैशाख १० गतेदेखि नै वितरण जारी रहेको जनक शिक्षा सामग्रीको कार्यालय जनकपुरधामका प्रमुख रुद्र खनालले जानकारी दिएका छन् ।

केन्द्रले यस वर्ष यो कार्यालयबाट १६ लाख ३२ हजार पुस्तक वितरण गर्ने लक्ष्य राखेकोमा वैशाख ११ गतेसम्म १० लाख ८२ हजार २३४ पुस्तक वितरण भइसकेकाे प्रमुख खनालले जानकारी दिए । उनले भने, 'हामीकहाँ यो कार्यालयमा २ लाख १८ हजार १९३ थान पुस्तक मौज्दात रहेकोमा ३ लाख ३१ हजार ५७३ थान पुस्तकको अझै आवश्यकता रहेको छ ।'

सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहँदा जनक शिक्षाले समयमै पाठ्यपुस्तक बाँड्ने कार्य सुरु गरेकाले विद्यार्थीहरूलाई पठनपाठनमा सहज हुने उनले बताए । जनकपुरधाम-४ स्थित श्रीसंकट मोचन देवसरण रामरती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम साहले भने, 'गत वर्षहरूमा असारसम्म पाठ्य पुस्तक नपाउने अवस्था रहँदै आएको थियो । तर, यस वर्ष चाहीँ शैक्षिक सत्र हुनु अगावैदेखि पाठ्यपुस्तक उपलब्ध गराउने कार्यले विद्यार्थीहरूलाई पठन पाठनमा सहज भएको छ ।'

यस्तै जनकपुरधाम-७ स्थित श्रीरामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक लट्टु साहले भन्छन्, 'हामीले त एक साता अगावै नै पुस्तक मगाइ सकेका छौं, कक्षा ४ सम्म नामांकन गराउने प्रत्येक विद्यार्थी पुस्तक बाँडिसकेका छौं, कक्षा ५ देखि १० सम्मको पुस्तकको अर्डर गरिसकेको छु, त्यो पनि आउने बित्तिकै वितरण गर्नेछु ।'

पुस्तक आउनुभन्दा पनि उपमहानगरपालिकको कार्यालयले चैतको अन्तिम सातामै पुस्तक खरिदको पैसा दिइसकेको कारण पुस्तक किन्न झन् सहज भएको उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्रको मधेश प्रदेश कार्यालयले प्रदेशको बाराबाहेक अन्य ७ जिल्ला र ओखलढुंगा, खोटाङ, उदयपुर तथा सिन्धुली जिल्लामा पनि पुस्तक उपलब्ध गराउँदै आएको छ । जनक शिक्षाले अहिले यस केन्द्रमा कक्षा ६ देखि १० सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेको जनाएको छ । पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको प्रमुख खनालले बताए ।

ती जिल्लाका व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको उनले बताए । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पुर्‍याउँछ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x