मधेश

प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड बन्याे कर्मचारीको पार्किङ स्थल

सुभाष कर्ण |
बैशाख ९, २०८० शनिबार १४:५५ बजे

जनकपुरधाम- मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेका प्रादेशिक अस्पताल जनकपुरधामको इमर्जेन्सी वार्डलाई कर्मचारीहरूले पार्किङ स्थल बनाएका छन् । अस्पतालका कर्मचारीहरूले रातिकाे समयमा आआफ्ना मोटरसाइकल इमर्जेन्सी वार्डमा राख्ने गरेको पाइएकाे हाे ।

अस्पताल परिसरमै पार्किङका लागि पर्याप्त ठाउँ भए पनि राति खटिएका कर्मचारीहरूले आकस्मिक कक्षमै पार्किङ गर्दै आइरहेका छन् ।


अस्पतालले पार्किङ व्यवस्थापन तथा रेखदेखकै लागि २० जना सुरक्षा गार्ड पनि राखेको छ । तर, चोरी हुने डरले कर्मचारीहरूले इमर्जेन्सी वार्डमै आफ्ना सवारी राख्ने गरेका छन् । बिहीबार मात्रै ज ७ प ९७३, प्रदेश २–०२–००३ प ६७७९ नम्बरको एफजेड, ज११प६९८४ नम्बर प्लेटकाे मोटरसाइकल आकस्मिक कक्षको ढोकादेखि भित्रसम्म पार्किङ गरेर राखेकाे पाइयाे । सो मोटरसाइकल कसको हो भन्नेबारे कसैले बताएनन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार ती मोटरसाइकल अस्पतालकै कर्मचारीहरूको भए पनि कुनै पनि कर्मचारीले सो मोटरसाइकलको जिम्मेवारी लिन भने मानेनन् । बिहीबार मात्रै हाेइन अन्य दिन पनि आधा दर्जन कर्मचारीहरूको मोटरसाइकल पार्किङ गरेर राख्ने गरेको कर्मचारी स्रोतले जनाएको छ । अस्पताल नै कुरूप देखिने गरी पार्किङ हुँदा व्यवस्थापन पक्षमाथि प्रश्न उठ्न थालेको छ ।

यस सम्बन्धमा अस्पतालका निर्देशक डा. प्रमोद यादवसँग सम्पर्क गर्दा यी कुराहरू आफूकहाँ पनि आएकाे बताए । ती कर्मचारीलाई कारबाही गर्ने अधिकार आफूमाथि नभएर प्रतिष्ठानका पदाधिकारीमा रहेकाे उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x