मधेश

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सुभाष कर्ण |
बैशाख ८, २०८० शुक्रबार २१:३६ बजे

जनकपुरधाम- चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै प्रादेशिक अस्पताल जनकपुरधाममा तोडफोड गरिएको छ । शुक्रबार चिकित्सकको लापरबाहीले आफ्नो बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तजनले अस्पतालमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको हाे ।

छातीमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका ६० वर्षीय रामबाबु साहको दिउँसो करिब २ बजे मृत्यु भएको थियो । सामान्य अवस्थामा रहेका बिरामीको चिकित्सकले लापरबाही गर्दा मृत्यु भएको आरोप मृतकका छोरा कृष्णा साहले लगाएका छन् ।


उनले भने, ‘छाती दुखेपछि बुवालाई अस्पतालमा भर्ना गरेका थियौँ । उपचारका लागि डाक्टरलाई पटक–पटक बोलायौँ, तर आएनन् । उपचार गर्न नसक्ने अवस्था भए अन्यत्र रेफर गरिदिनुपर्थ्याे । हामी अन्तै लैजान्थ्यौँ, तर तिनीहरू न त उपचार गरे न रेफर नै, अन्ततः मृत्यु हुन गयो ।’

बुवाको मृत्यु घटनाले आक्रोशित बनेका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरू रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गर्न बित्तिकै घण्टौँसम्म अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । हुन त प्रहरीले उनीहरूलाई ३ घण्टापश्चात् रिहा गरेपछि अवस्था सामान्य बनेको थियाे । पीडित पक्षले दोषी चिकित्सकलाई कारबाहीको माग गरेकाे छ ।

यता, अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको अवस्था पहिलेदेखि नै खराब रहेको र अक्सिजनको मात्रा पनि कम भएको बताए । चिकित्सकको लापरबाहीका कारण नभएर बाथरुममा लडेका कारणबिरामीकाे मृत्यु भएको उनकाे भनाइ छ । उनले भने, ‘गम्भीर अवस्थामा पनि उनी उपचारकै क्रममा आफैँ बाथरुममा आवतजावत गरिरहेका थिए । सोही क्रममा बाथरुममै लडेर अचानक उनको मृत्यु भएको हो ।'

चिकित्सकको लापरबाहीका कारण प्रादेशिक अस्पताल जनकपुरमा यस्ता घटना पटक–पटक दोहोरिने गरेको स्थानीयको आरोप छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x