मधेश

आमरण अनशनमा बसे चुरे अभियानी यादव

सुभाष कर्ण |
चैत १७, २०७९ शुक्रबार २१:५५ बजे

जनकपुरधाम- एक महिना बढी समयदेखि २४ घण्टे धर्नामा बस्दै आएका चुरे वन जंगल संरक्षण अभियानका संयोजक दिउँसो ५ बजेदेखि आमरण अनशनमा बसेका छन् ।

चुरे वन जंगलको जग्गा अतिक्रमण मुक्त र भूमिहीन दलित सुकुम्बासीलाई बसोबास तथा भूमि अधिकारलगायतका मागसहित फागुन ११ गतेदेखि जनकपुरधामस्थित जनक चोकमा जनआवाज आन्दोलन अन्तर्गत धर्ना कार्यक्रम दिँदै आएका थिए । आफ्नो मागप्रति तीनवटै तहका सरकारले कुनै चासो नलिएको भन्दै आमरण अनशनमा बसेका हुन् ।


आफूहरू एक महिना ७ दिनसम्म धर्नामा बस्दा पनि स्थानीय, प्रदेश र संघीय मध्ये कुनै पनि सरकारले आफूहरूको मागप्रति चासो नलिएपछि आफ्नो अधिकारका लागि मर्नु वा मार्नु नै अवस्था देखिएकाले अनिश्चितकालीन आमरण अनशनमा बसेको चुरे वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए ।

जनआवाज आन्दोलन अन्तर्गत धर्ना कार्यक्रमसहित विरोधका कार्यक्रमहरू जारी राख्दै संयोजक यादव जनक चोकमै आमरण अनशनमा बसेका हुन् । आन्दोलनका क्रममा उनले मुख्यमन्त्री कार्यालय घेराउ र प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ तथा विभिन्न जिल्लाका भूमिहीन सुकुम्बासी आयोगको कार्यालयमा तालाबन्दीसहित विरोध प्रदर्शनका कार्यक्रमहरू गरेका छन् । 

उनले चुरे वन जंगल संरक्षणसहित दलित तथा अव्यवस्थित बसोबासीलाई भूमि अधिकार, वैदेशिक रोजगारमा गएका परिवारहरूको समस्या समाधान र प्रत्यक्ष निर्वाचनमा दलितको सिट सुनिश्चतता लगायतका आफूहरूले ६ बुँदे माग राखि आफू आमरण अनशनमा बसेको बताए ।

उनले गत दुई वर्षअघि ९ दिनसम्मको आमरण पश्चात मधेश प्रदेश सरकारले गरेको ७ बुँदे सम्झौता कार्यान्वयन र चुरे संरक्षण सम्बन्धमा तयार पारिएको प्रतिवेदन पुनः अनुसन्धान गरी सत्यतथ्य ल्याउन माग गरेका छा् । यादवले भने, 'त्यो प्रतिवेदनमा वनजंगल अतिक्रमणकारीका मतियार वनका कर्मचारी सुभाषचन्द्र दासलाई बचाउन आर्थिक लोभ, दबाब र प्रभावमा ल्याइएका कारण आफूले नमानेको र पुनः सत्यतथ्य रूपमा छानबिन ल्याउनुपर्ने माग छ ।'

वन कर्मचारी दासलाई कारबाही गर्नु र सिरहामा मारुति सिमेन्ट उद्योगले वन बुटियानको अतिक्रमण गरेको ३ विघाभन्दा बढी जग्गा अतिक्रमणमुक्त गराउनको सट्टा प्रदेश सरकारले सम्मान गरेर आफूहरूसँग अन्याय गरेकाे उनले बताए । माग पूरा नभएसम्म आमरण अनशन जारी रहने उनले चेतावनी समेत दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x