मधेश

मधेशमा सचिवको पदीय विवादले मन्त्रालयको काम ठप्प

सुभाष कर्ण |
चैत ७, २०७९ मंगलबार २१:५८ बजे

जनकपुरधाम- मधेश प्रदेशकाे महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा सचिवको पदीय विवादले कामकाज ठप्प भएको छ ।

दुई उपसचिवलाई निमित्त सचिवको जिम्मेवारी दिइएपछि विवाद उत्पन्न भएको हो । उक्त विवादले गर्दा मन्त्रालयको कामकाज नै केही दिनदेखि ठप्प भएको छ । 
संघीय सरकारबाट समायोजन भई बढुवा भएर शिक्षा तालिम केन्द्र, बारा कलैयामा आएका महेन्द्र महतोलाई सो मन्त्रालयमा निमित्त सचिवका रूपमा बोलाइयो । उनी २०७९ पुस २ गते नै हाजिर भएका थिए । तर, उनी मन्त्रालयमा आउँदा पहिलादेखि नै प्रदेश सभाका निमित्त सचिव रञ्जित यादव सो पदमा कार्यरत रहेका थिए ।


महतोलाई मुख्य सचिव कृष्णबहादुर राउतले बोलाएका थिए भने प्रदेशसभा निमित्त सचिव रञ्जित यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले दुवै कार्यालय हेर्ने गरी जिम्मेवारी दिएका थिए । यादव २०७९ श्रावणमा मात्र प्रदेश सरकारको बढुवामा उपसचिव भएका थिए ।

केही दिनसम्म दुवै सचिवबीच विवाद भएन । तर, मन्त्रालयको खाता निमित्त सचिव रञ्जित यादव र सह–लेखापाल सुशिल यादवको नाममा सञ्चालन गरिएपछि विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा हाल मन्त्रालय ठप्प भई अस्तव्यस्त बनेको छ ।

सेवाग्राही मन्त्रालयमा काम गराउन जाँदा सचिव नै भेटिँदैनन् । दुई/दुईवटा सचिव हुँदाहुँदै पदीय विवादले गर्दा धेरै कामहरू सचिव अभावमै रोकिएको छ । एक सेवाग्राहीले भने, 'आफूलाई फाइदामा सिफारिसका लागि तोक लगाउन एक महिनाभन्दा बढी समय मन्त्रालय धाएपछि निमित्त सचिव रञ्जित यादवको मोबाइल नम्बर पत्ता लगाएर प्रदेश सभामा गएर तोक लगाउनु पर्यो ।'

याे त उदाहरण मात्र हाे, कयौं सेवाग्राहीकाे काम बनेकाे छैन भने कयौं कामका फाइल रोकिएका छन् । निमित्त सचिव महतोले बरियता क्रममा यादवभन्दा आफूमाथि रहेकाले निमित्त सचिवको जिम्मेवारी आफूले पाउने बताए । उनले भने, 'यादव मभन्दा कनिष्ठ उपसचिव हो, म वहाँभन्दा वरिष्ठ हुँ । समायोजनदेखि बढुवासम्मको अंक हेर्नुस्, मभन्दा कनिष्ठको तल बसेर कसरी काम गरुँ ? मेरो धर्म र मर्मले के भन्छ, आफूभन्दा तलको कर्मचारी कहाँ जी, हुजुरी गर्न जानु ।’

महतोले भने, 'रञ्जितजी हुँदाहुँदै आफूलाई निमित्त सचिवको जिम्मेवारी दिन्छु भनेर मुख्यमन्त्री कार्यालयले बाराबाट बोलायो । यहाँ आउँदा त सो पदमा रञ्जित जी देखेपछि, मुख्य सचिवज्यू कहाँ कुरा राख्दा मिलाउँछु भनेर आश्वासन दिनुभयो । तर, आश्वासन दिएको तीन महिना बितिसक्दा पनि कुनै चासो लिु भएन ।'

उपसचिव यादव मुख्यमन्त्री सरोजकुमार यादवको निकटतम विश्वास पात्र हुन् । सभामुख रहेकै बेला मुख्यमन्त्री यादवसँग उपसचिव यादवले लामो समयसम्म काम गरेका हुन् । साेही घनिष्टताका कारण मुख्यमन्त्री यादवले आफूलाई सहज हुने गरी उनलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि दिएका हुन् ।

यता मुख्य सचिव कृष्णबहादुर राउतलाई यस सम्बन्धमा जानकारी लिन पटक पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । उनको भनाइलाई उद्धृत गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विपिन ठाकुरले प्रदेशसभाका सचिव समेत रहेका यादवलाई मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी दिँदा उपसचिव महतो थिएनन् । दुवै जनाबीच पदीय र बरियताक्रममा भएकाे विवाद  ३/४ दिनभित्रै मिलाइने बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x