मधेश

लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरू नै बसे अनिश्चितकालीन धर्ना

सुभाष कर्ण |
फागुन ३०, २०७९ मंगलबार १९:२१ बजे

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनप्रतिनिधिहरूले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको आरोप लगाउँदै उनीहरू मंगलबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू रहेका छन् । 

आफूहरूले तालाबन्दी गरेको दुई दिनपश्चात गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सम्पूर्ण जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपनि अहिलेसम्म कुनै समन्वय नगरेकाले बाध्य भएर गाउँपालिकाको कार्यालय अगाडि धर्नामा बस्नु परेको वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादवले बताएका छन् ।


गत फागुन १४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकृत नागेन्द्र यादव र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरूले लगाएको ताला फोडेर कार्यालयका महत्वपूर्ण सामानहरू हिनामिना गरेकोे वडाध्यक्ष यादवको आरोप रहेको छ । उनले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत यादवले बिना कुनै जनप्रतिनिधिको रोहबरमा ताला फोडेर कार्यालयका कागजात सहित विभिन्न सामानहरू हिनामिना गरेको भने । 

तालाबन्दी गरेको १५ दिन बितेपनि सहमतिमा नआई गत आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले स्थानीय प्रशासनको रोहबरमा आफूहरूलाई कुनै जानकारी नै नदिई उल्टै ताला फोडेर हैकमवादी प्रवृत्ति देखाएको वडा नम्बर–२ का वडाध्यक्ष लालजी साहको गुनासो छ । 

वडाध्यक्ष साहले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकिय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खालि हात घर फर्किन बाध्य हुँदा आफूहरू धर्नामा बसेको बताए । उनले भने, ‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम ? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन् । जनताको कामका लागि हामी कुटाई खान पनि तयार छौं ।' 

नेकपा एमालेबाट निर्वाचित वडा नम्बर–१ का वडाध्यक्ष दिलिप यादव, वडा नम्बर–२ का वडाध्यक्ष लालजी साह, ५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महाविर साह, वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायत ६ जना कार्यपालिका सदस्य र ८ जना वडा सदस्यहरूसहित १९ जना मंगलबारदेखि धर्नामा बसेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x