मधेश

चुरे अभियानीहरुले घेरे मधेशको कृषि मन्त्रालय

सुभाष कर्ण |
फागुन २८, २०७९ आइतबार २०:५४ बजे

जनकपुरधाम - चुरे अभियानीहरुले आफ्ना माग पुरा गर भन्दै मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय घेराउ गरेका छन् ।

आइतबार चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा भूमिहीन दलितहरुले आफ्ना माग पुरा गर भन्दै सरकार विरुद्ध नगरमा विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । गत १६ दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका चुरे अभियानीहरु आफ्नो माग प्रति तीनै तहका सरकारले बेवास्ता गरेको भन्दै दोश्रो चरणको आन्दोलन अन्तर्गत मन्त्रालय अगाडि प्रदर्शन गर्दै घेराउ गरेका थिए । 


चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव प्रदेश सरकारले कहिले आफ्नो अधिकार क्षेत्रमा नरहेको र त कहिले ऐन मार्फत आयोग बनाएर समस्या समाधान गर्ने भनी दोहरो चरित्र देखाइरहेको आरोप लगाए । उनले भने, सम्बन्धित कृषि मन्त्रालयले भन्छ हाम्रो क्षेत्राधिकारमा छैन, यदि उहाँको क्षेत्राधिकारमा छैन भने यस भूमिव्यवस्था मन्त्रालयको यहाँ के काम हटाउंदा हुन्छ । 

उनले प्रदेश सरकार मातहतका मन्त्रालयहरु सबै कुरामा संघ सरकारको अधिनमा रहेको भन्दै पन्छिदै आएको छ । तर कमीशन आउने हरेक काम गर्दै आएका छन् । प्रदेश सरकार विकास निर्माण र जनताको समस्या समाधान गर्न होइन भ्रष्टाचारको अखाडा बनेको आरोप लगाए । 

चुरे तथा वन जंगल संरक्षण अभियानीहरुको माग बारे मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले आफ्नो अधिकार क्षेत्रको कुरा नभएको र माथिल्लो निकायमा पहलका लागि कुरा राखिसकेको बताए । 

खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुमा तत्काल रोक लगाउनु पर्ने, विगतमा मधेश सरकारले गरेको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्नु पर्ने, भूमिहिन तथा सुकुम्बासीको आवसको व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगार सम्बन्धि समस्या हल गर्नु पर्ने लगायत अभियानको माग अघि सार्दै पटक पटक आन्दोलनमा गर्दै आएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x