मधेश

जनकपुरधामसहित मधेशमा आज होली मनाइँदै

सुभाष कर्ण |
फागुन २४, २०७९ बुधबार १०:३३ बजे

जनकपुरधाम - जनकपुरधामसहित मधेशका विभिन्‍न जिल्लामा आज उत्साह र उमंगका साथ होली मनाइँदै छ । बिहानैदेखि नगरको विभिन्न स्थानमा बालबालिका  र युवायुवतीदेखि बुढापाका समेतले एक अर्कालाई रंग अबीर दली होली पर्व मनाइरहेका छन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।

तराईं-मधेश मंगलबार नै होली रहे पनि १५ दिने मध्यमा परिक्रमाको समापन भएको भोलिपल्ट जनकपुरधाममा मनाइने भएकाले आज मनाउन लागिएको हो । मंगलबार माछामासु नखाने मान्यता अनुरूप प्रदेशका जिल्लाहरूमा आज नै मनाइरहेको छ भने प्रदेश सरकारले पनि होलीको सार्वजनिक बिदा आज नै दिएको हो ।


यता जनकपुरधामको चोक चोकमा मटकाफोर कार्यक्रमहरू आयोजना गरिएको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । जनकपुरधाममा त्रेता युगमा भगवान राम र सीताले होली खेलेको मान्यता रहेको छ । मिथिलाका अधिकांश गीतहरूमा रामसीतासँग जोडिएको प्रसंगहरू छ । 

त्रेता यूगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलीकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

अर्को एक प्रसङ्गअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएको थियो । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x