मधेश

१५ दिने मध्यमा परिक्रमा सम्पन्न

उपमहानगरद्वारा बेवास्ता

सुभाष कर्ण |
फागुन २३, २०७९ मंगलबार २०:४४ बजे

जनकपुरधाम- विश्वकै लामो धार्मिक यात्राका रूपमा परिचित मिथिलाको महाकुम्भ भनिने १५ दिवसीय माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

फाल्गुन औंसीका दिन फागुन ९ गतेदेखि विधिवत् रूपमा सुरु जनकपुरधामको नगर परिक्रमा गरिने अन्तरगृह परिक्रमा मंगलबार सम्पन्न भएको हो ।


जनकपुरधामको हनुमानगढीबाट सुरु भई नेपाल र भारतको १५ वटा विश्राम स्थलहरूमा सीतारामको डोलासँगै पदयात्रा गरेका लाखौं श्रद्धालुहरू सोमबार नै आफ्नो अन्तिम पडाव जनकपुर आई पुगेका हुन् । जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहन पश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।

१५ दिवसीय मध्यमा परिक्रमामा सहभागी नभएकाहरू अन्तरगृहमा सहभागी भए सोही बराबरको फल प्राप्त हुने र मध्यमा परिक्रमा गरेकाहरूले अन्त्यमा अन्तरगृह परिक्रमा गर्नैपर्ने भएको हुनाले आज जनकपुरधामको लाखौँ श्रद्धालुहरूले नगरपरिक्रमा गरेका छन् । तराई मधेशमा आज होली भए पनि मधेश प्रदेशका जिल्लाहरूमा परिक्रमाको भोलिपल्ट अर्थात बुधबार होली मनाइने भएको छ ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार बृहत्, मध्यमा र अन्तरगृह (लब्धी) गरी तीन प्रकारको परिक्रमा उल्लेख छ । मिथिला क्षेत्रभरिको परिक्रमा गर्नेलाई बृहत् परिक्रमा, १ सय ३३ किलोमिटर दूरीको १५ दिने परिक्रमालाई मध्यमा र जनकपुरधाम क्षेत्रको नगरपरिक्रमालाई अन्तरगृह परिक्रमा भनिएको छ ।

नेपाल र भारतको सीमा क्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो मध्यमा परिक्रमाका क्रममा नेपालका १३ र भारतको २ गरी जम्मा १५ वटा धार्मिक स्थलहरूको जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् । परिक्रमा टोलीमा सहभागीका लागि यी १५ वटै धार्मिक स्थल पडाव (विश्रामस्थल) हुन्छ । यस अवधिभरिका लागि परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तहरूले आफ्नो गास, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।

फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरको अग्नीकुण्डबाट किशोरीजीको डोलासहित जनकपुरधामको हनुमानगढीबाट मध्यमा परिक्रमा सुरु भएको थियो ।

उपमहानगरद्वारा बेवास्ता

अन्तिम पडाव जनकपुरधाम आएका मध्यमा परिक्रमामा सहभागीहरूका लागि जनकपुरधाम उपमहानगरपालिकाले कुनै व्यवस्था नगर्दा निकै समस्या भोग्नु परेको परिक्रमामा सहभागीहरूले बताएका छन् ।

परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्त सोमबार नै जनकपुरधाम पुगेका थिए । एक राति जनकपुरधाम विश्राम गरेका परिक्रमावासीहरूका लागि शौचालय तथा खानेपानीको व्यवस्था नगर्दा निकै समस्या भोग्नु परेकाे हाे ।

परिक्रमावासीहरूको जनकपुरधामको तिरहुतिया गाछी, बारहविघा मैदान, गंगा सागर पोखरीको डिल लगायतका ठाउँमा पडाव रहेको थियो । उपमहानगरपालिकाले शौचालयको व्यवस्था नगर्दा उनीहरूले जताजतै दिशा पिसाब गर्दा सो ठाउँहरू निकै नै फोहोर बनेको छ । यसका साथै अन्तरगृह परिक्रमा रुटमा रहेका मगन्तेहरूले आ आफ्ना सामग्री त्यतै छोडेर जाँदा पनि परिक्रमा सडक फोहोर भएको छ ।

अन्तरगृह परिक्रमाका लागि यस वर्ष पनि भ्रमरपुरा चौकदेखि बलवाटोलसम्मको बाटो नबनाइदिँदा नांगो खुट्टा यात्रा गर्नेहरूलाई अत्यधिक कठिनाइ भएको छ । परिक्रमा घुम्ने सडकमा राखिएको ढुंगागिटीमै यात्रा गर्नु परेको छ ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले व्यवस्थापन गर्न नसकिएको स्वीकार गर्दै भने, 'हामीले प्रत्येक मेला र उत्सवमा अस्थायी संरचना निर्माण गर्दै आएका छौँ । तर, त्यसले खर्च लाग्ने उपलब्धि केही नहुने भएकाले स्थायी संरचना निर्माण गर्ने उद्देश्यले यस पटक व्यवस्थापन गर्न नसकिएको हाे ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x