मधेश

जनकपुरधाम उपमहानगरका मेयर 'महामूर्ख'

सुभाष कर्ण |
फागुन २३, २०७९ मंगलबार १८:४२ बजे

जनकपुरधाम- होलीको पूर्व सन्ध्यामा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले महामूर्खका उपाधि पाएका छन् ।

प्रत्येक वर्ष होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषदले आयोजना गर्दै आएको महामूर्ख सम्मेलनबाट एकजना विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधि दिँदै आएको छ । यस वर्ष भने महामूर्खको उपाधि मेयर साहलाई दिइएकाे छ ।


जनकपुरधाममा होली पर्वका अवसरमा आयोजित महामूर्ख सम्मेलनमा आफूलाई महामूर्खको उपाधि दिइयोस् भन्ने इच्छाका साथ जनकपुरधामको जानकी मन्दिरमा घण्टौंसम्म प्रतिक्षारत रहेको बौद्धिक जमात देखियो । सो सम्मेलनमा आफूलाई महामूर्ख घोषित गराउनका लागि कयौं विशिष्ट व्यक्तिहरूले पैरवी समेत गरेका थिए । जसमा वडाध्यक्ष, मेयरदेखि प्रदेशसभा सदस्यहरू थिए ।

महामूर्खको उपाधि पाएका मेयर साहलाई उपाधिसहित प्रशस्ति पत्र, लाटोकोसेरोको मुकुट र मालाले सुशोभित गरी सम्मान गरिएको छ । हुन त महामूर्खका लागि प्रदेश सभामुख रामचन्द्र मण्डललाई चयन गरिएको थियो । तर, उनी स्वास्थ्यमा समस्या देखिएपछि अनुपस्थित भएपछि मेयर साहलाई उपाधि दिइएको हाे ।

त्यस्तै संचारकर्मी ऋषि धमलालाई पटमूर्ख, संचारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसद मण्डललाई वैशाखनन्दन, नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्व खेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झा लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधि प्रदान गरिएको थियो ।

महामूर्खको उपाधि विगत २७ वर्षको परम्परा अनुसार यस अघि मिनापले कवि नरेश ठाकुर, मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिहं, राजनीतिक विश्लेषक सीके लाल, नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख लालकिशोर साह, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंशल आचार्य र पछिल्लो वर्ष डा. भोगेन्द्र झालाई प्रदान गरिसकिएको छ ।

सो सम्मेलनमा सहभागी कविहरूले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तु माथि कटाक्ष समेत गरेका थिए । दुई दिने महामूर्ख सम्मेलनका क्रममा पहिलो दिन होरैया प्रतियोगिता गरिएको थियो । जसमा गाउँ-गाउँबाट आएको होरैया टिमहरूले जोगिरासहित होलीसँग सम्बन्धित लोकगीतहरू प्रस्तुति गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x