मधेश

महासेठले भने : प्रचण्ड छेपारोजस्तै रंग बदल्छन्

'प्रचण्ड आफूले शासन गर्न एमाले र कांग्रेसलाई लडाउन खोजे'

सुभाष कर्ण |
फागुन २१, २०७९ आइतबार २१:५८ बजे

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू शासन गर्न एमाले र कांग्रेसलाई लडाउन खोजेको आरोप लगाएका छन् । चैत ३ गतेपछि देशको राजनीतिक कोर्ष परिवर्तन हुने बताएका छन् ।

आइतबार नेकपा एमाले क्षीरेश्वरनाथ नगर कमिटीले आयोजना गरेको होलीको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता महासेठले प्रचण्डको कुनै पनि कुरामा स्थिरता नरहेको आरोप लगाउँदै भने, 'प्रचण्ड आफू शासन गर्न एमाले र कांग्रेसको बीचमा लडाईं गराउन खोजेका छन् ।'


'उनको यस्ता रणनीति कयौं पटक सफल पनि भएको छ । तर, अब कांग्रेस र एमाले दुवैले उनको खेल बुझिसकेको चैत ३ पछि राजनीति कोर्ष नै परिवर्तन हुनेछ,' उनले भने, 'चैत ३ पछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पश्चात देशको राजनीतिक कोर्स परिवर्तन भई कुन दिशामा जान्छ त्यो भन्न मुस्किल छ ।’

माओवादी अध्यक्ष प्रचण्ड छेपारो जस्तै रंग परिवर्तन गरी पुरानै गठबन्धनसँग हात मिलाएर नेकपा एमालेललाई धोका दिएको महासेठले आरोप लगाए । 
प्रचण्डले चाहे भने भोलिदेखि होली पनि बन्द गराउन सक्छन् । फागुन १ गते जनयुद्धको उपलक्ष्यमा पनि उनी होली गराउन सक्छन् । उनको मोनोपोली छ, भन्दै उनले सबै एकजुट भएर चार वर्ष पक्ष विपक्षमा नलागेर हामी सबै विकास निर्माणमा जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोले मुलुक अहिले देशी विदेशी शक्तिको घेराबन्दीमा परेको आशंका व्यक्त गर्दै घेराबन्दीलाई तोड्न नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य हरिनारायण महतो, क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, नेकपा एमाले जनकपुरधामका नगर अध्यक्ष सुरेन्द्र भण्डारीसहित नेता कार्यक्रताहरूको उपस्थिति थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x