मधेश

कांग्रेसको कोर्ष करेक्सनले सकारात्मक परिणाम ल्यायो : नेता निधि

सुभाष कर्ण |
फागुन १६, २०७९ मंगलबार १९:५० बजे

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसले गरेको कोर्ष करेक्सनले सकारात्मक परिणाम ल्याएको बताएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति समेत रहेका निधिले आम निर्वाचनपछि एमालेसँगको सहकार्यमा बनेको सरकारपछि कांग्रेस र माओवादीबीच दूरी भएको बताए ।


कांग्रेसकै सामान्य गलतीका कारण लोकतान्त्रिक शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धन भत्किँदा लोकतान्त्रिक जमात शक्तिमा निराशा मात्र होइन कि पश्चाताप समेत भएको उनले बताए । तर, त्यो गल्तीलाई सच्याउन नेपाली कांग्रेसले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएर कोर्ष करेक्सनको सुरुवात गरेको पनि उनकाे भनाइ छ । 

पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दूरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को ‘कोर्स करेक्सन’ गर्दै  राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि सबै लोकतान्त्रिक शक्ति एक भएपछि पहिलाभन्दा पनि बढी ८ दलीय गठबन्धनले थप मजबुत बनेको उनले दाबी गरे ।

उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा एमाले बाधक भए पनि संसद्‍मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे । 'आठ दल एक ठाउँमा उभिसकेका छौँ, आम जनता पार्टीले राष्ट्रपतिमा समर्थन जनाइसकेको छ । सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ,' निधिले भने । 

संविधान र प्राप्त उपलब्धिकाे रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको दाबी गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x