मधेश

कांग्रेस प्रदेशसभा सदस्य यादवले भने : मुख्यमन्त्री बेठुवा हो, उनको बोलीको ठेगानै छैन

सुभाष कर्ण |
फागुन १३, २०७९ शनिबार २१:४६ बजे

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसका नेताहरूले बेठुवा (बोलीको ठेगान नरहेको) को संज्ञा दिएका छन् ।

शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित स्व. महेन्द्र नारायण निधिको १०१ औं जन्मजयन्ती समारोहमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव ‘बेठुवा’ रहेको बताए । 


कार्यक्रममा मुख्यमन्त्री यादवले प्रमुख अतिथिका रूपमा सहभागी हुने प्रतिबद्धता जनाए पनि अन्तिम समयसम्ममा पनि नआउँदा मुख्यमन्त्री यादवप्रति आक्रोश पोख्दै नेता यादवले भने, 'मुख्यमन्त्री बेठुवा हो, उनको बोलीको ठेगानै छैन ।'

प्रदेशसभा सदस्य यादवले मुख्यमन्त्रीलाई बेठुवा भन्दै बिनासेडुलको मुख्यमन्त्री रहेको आरोपसमेत लगाए । मुख्यमन्त्री यादवलाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा नआउँदा कांग्रेसका अन्य नेताहरू पनि आक्रोशित हुँदै भने, 'यस्तो पनि मुख्यमन्त्री हुन्छ जसको बोलीको ठेगानै छैन, सेडुलमा समय खाली थिएन भने आमन्त्रण दिनै बेलामा भन्नु पर्थ्यो नि, हामी अरुलाई प्रमुख अतिथि बनाउँथ्यौँ । तर, यस्ता बेठुवा प्रवृत्ति कुनै राजनीतिक दलका लागि मात्रै नभई आम जनताको विकासको लागि पनि घातक रहेको छ ।'

कार्यक्रममा कांग्रेस नेता स्मृती नारायण चौधरीले मुख्यमन्त्री यादवको सम्पूर्ण कार्यक्रम कांग्रेसले बहिष्कार गर्नुपर्ने बताए । पार्टीको प्रमुख सचेतक कुमरकान्त झा, जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह, नेता जगत सुन्दर साह, प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णलगायतले स्व. निधिको स्मरणमा बनाइएको सांस्कृतिक भवनमा प्रहरीले कब्जा गरेको भन्दै छिट्टै खाली गर्न माग गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x