मधेश

मन्त्रालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाइयो : मन्त्री कुशवाहा

सुभाष कर्ण |
फागुन १२, २०७९ शुक्रबार २१:० बजे

जनकपुरधाम- मधेस प्रदेश सरकारका यसअघिका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूले मन्त्रालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको मन्त्री बसन्त कुशावाहाले आरोप लगाएका छन् ।

शुक्रबार आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले मन्त्रालयमा यस अघिसम्म विनियोजित योजनाहरू जनतामुखी नभई कार्यकर्ताहरूलाई पाल्ने गरी वितरण गरिएको बताए ।


मन्त्री कुशवाहाले मन्त्रालयको बजेट अधिकांश कार्यकर्ता र वितरणमुखी रहेको आफूले देखेको दाबी गरे । उनले यसले वास्तविक किसानको समस्या समाधान नगर्ने दाबी गर्दै कार्यकर्ता भर्ती केन्द्र बनाउने काम मात्रै भएको जिकिर समेत गरे ।

उनले भने, ‘कृषि सडकको लेन्थ मेजर कही पनि गरिएको छैन । बजेटमा अधिकांश  शीर्षकहरूमा १५ लाख रुपैयाँ छुट्याएको देखिन्छ । किसानका लागि कुनै काम नै नगरी कार्यकर्ता पोस्ने काम भएको मात्रै देखिएको छ । जुन कि बिलकुलै हास्यास्पद कुरा हो ।’

मन्त्री कुशवाहाले कृषि सडकका लागि १५/१५ लाख रुपैयाँ छुट्टयाइए पनि त्यो कस्तो हुने, कति क्षेत्रफलमा हुने भन्ने कुरा उल्लेख नै नरहेको जिकिर गरे ।

उनले मन्त्रालयको डिपिआर पनि गलत रहेको दाबी गरे । डिपिआर प्राविधिक रूपले गलत रहेको बताउँदै उनले यसमा कपीपेष्ट डाटाहरू मात्रै पछिल्लो डिपिआरमा ड्रइङ्ग नभई बेसिक लेआउटहरू मात्रै रहेकाले अबदेखिको डिपिआरमा यस्ता त्रुटिहरू नरहने दाबी समेत गरे । 

मधेस प्रदेशमा कृषकका लागि कम्तीमा ३ लाख मेट्रिक टन मलखाधको आवश्यकता रहेकोमा १ लाख मेट्रिक टन मात्रै पाउने गरेकाले अब यस आर्थिक वर्षदेखि कम्तीमा पनि साढे २ लाख मेट्रिक टन उपलब्ध गराइने उनले बताए । उनले आफूले अबको पाँच वर्षमा प्रदेशमा भएका नदीनालाहरूबाट हुनसक्ने सिँचाइलाई प्राथमिकतामा राख्दै विद्युत् प्राधिकरणले पोल गाड्न सक्ने ठाउँमा स्टेट बोरिङ्ग गर्ने र जुन ठाउँमा स्टेट बोरिङ्ग गर्न मिल्दैन त्यो ठाउँमा सोलार एरिगेशन सिस्टम गर्ने जानकारी दिए ।

मन्त्री कुशवाहले यस आर्थिक वर्षमा आफूले गर्न सक्ने कामहरूमा मात्रै आफ्नो ध्यान केन्द्रित गर्ने जानकारी दिँदै विगत एक महिनामा आफूले अफिसियल कामहरू मन्त्रालयबाट मात्र गरिरहेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x