मधेश

मधेशमा जसपा संसदीय दलको नेता चयनका लागि साेमबार निर्वाचन हुने

सुभाष कर्ण |
पुस २४, २०७९ आइतबार १९:१५ बजे

जनकपुरधाम- मधेश प्रदेशमा संसदीय नेता चयनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई निर्णय गर्ने जिम्मेवारी दिइएको थियो । तर, पार्टीमा दलको नेता बन्न आकांक्षीहरू बढी भएपछि पार्टी अध्यक्ष यादवले फेरि पार्टीको प्रदेश कमिटीलाई नै जिम्मेवारी दिएका थिए ।


प्रदेश कमिटीले निर्वाचनमै जान निर्णय गरेपछि चुनावी प्रक्रियामा गएको हो । सोही अनुसार केन्द्रीय सदस्य लालकिशोरको संयोजकत्वमा गठित निर्वाचन समितिले दलको नेता चयनका लागि सोमबार ५ बजेदेखि मतदान हुने गरी कार्यतालिका आइतबार सार्वजनिक गरेका हुन् ।

निर्वाचन तालिका अनुसार सोमबार बिहान ९ देखि ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । यस्तै, ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ ।

दिउँसो ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक साहले जानकारी दिए ।

जसपा मधेश प्रदेश सभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव र उपनेता रामअशिष यादव प्रमुख दाबेदार छन् ।

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलको नेता चयन गर्न लागिएको हो । मधेश प्रदेश सभामा जनता समाजवादी पार्टीका १६ जना सदस्य छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x