मधेश

दर्ता-चलानी रजिष्टर खाली पाइएपछि घम्साघम्सी

धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवाद : कामकाज ठप्प

सुभाष कर्ण |
असार ३, २०७९ शुक्रबार २१:२९ बजे

जनकपुरधाम - धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवादले कामकाज ठप्प भएको छ । शुक्रबार आ-आफ्ना योजना सम्बन्धमा जानकारी लिन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यालयमा पुगेर दर्ता-चलानी रजिष्टर जाँच गर्दा खाली पाइएपछि विवाद उत्पन्न भएको थियो । विवादको बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी र जनप्रतिनिधिलगायत उनका समर्थकबीच घम्साघम्सी भएपछि कर्मचारीले कामकाम ठप्प पारेका हुन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधले मेयर विनयकुमार यादवको निर्देशनमा कर्मचारीहरूले उनका कार्यकर्ताहरूको पुराना योजनाहरू समावेश गर्न दर्ता-चलानी रजिष्टर खाली छाडेको आरोप लगाएका छन् । मेयर यादव कांग्रेसबाट निर्वाचित हुन् ।


महिनौदेखि वडा नम्बर ६ को विद्यालयको योजना रोकेर राखेको कारण बुझ्न आउँदा दर्ता-चलानी रजिष्टर माघ महिनादेखि नै प्रत्येक पानाको बीच बीचमा ८/१० जटा लाइन खाली पाइएपछि विवाद भएको वडा नम्बर ८ का अध्यक्ष संजयकुमार राउतले बताए ।

आफूहरूले सबै दलका जनप्रतिनिधिलाई समेटेर एउटा समिति बनाइ योजनाहरू वितरण गर्नुपर्ने माग गर्दै आए पनि मेयरले कुनै चासो नलिएको उनको आरोप छ । मेयरले आफ्ना कार्यकर्ताहरूको योजना समेटन दर्ता चलानी रजिष्टर खाली छाडेर काम गराउनु गलत रहेको उनले बताए ।

त्यस्तै एमालेबाटै निर्वाचित वडा नम्बर ९ का अध्यक्ष रामप्रमोदले पुरानो मितिमा दर्ता चलानी गरिरहेको थाहा पाएपछि आफूहरू जाँचगर्दा खाली देखिएपछि त्यस्ता कार्य रोक्न भन्दा विवाद भएको बताए ।

'पछिल्लो पटक मेयर साहेबको बैठकमा सबै दललाई समेटेर जनताको हितका योजनाहरू प्रस्तावमा लगेर कार्यान्वयन गर्ने भनेको थियौँ,' उनले भने, 'तर मेयर साहेबले एकलौटि ढंगले आफ्ना कार्यकर्ताहरूको योजनाहरू पुरानो मितिमा कार्यान्वयन गर्नु गलत हो, हामीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेका छौं ।' मेयरको मनपरी नरोकिए आफूहरू संघर्षमा उत्रिने चेतावनी उनले समेत दिए ।

केही व्यक्तिहरूले जनप्रतिनिधिहरूलाई उक्साएर आफू अनुकुलको योजना समावेश गराउन खोज्दा नभएछि विवाद गरेको कर्मचारीहरूले दाबी गरेका छन्। कर्मचारीहरूका अनुसार विगतमा केही व्यक्तिले योजना प्रस्ताव गरेका थिए, त्यो नपरेपछि अहिले तिनका जनप्रतिनिधिहरू निर्वाचित भएपछि तिनीहरूलाई उक्साएर विवाद गरेका हुन् । 

निर्वतमान जनप्रतिनिधि रामदुलार मुखियाले अरुको योजना पुरानो मितिमा समावेश गरी सम्झौता गरेर कार्यान्वयन गरिसकेको तर आफूहरूको महिनौअघि प्रस्ताव गरेको योजना दर्ता समेत नगरेको कारणले पनि विवाद भएको बताए ।

यता कर्मचारीहरूले आफूहरूसँग दुर्व्यहार गर्नेहरूलाई कारबाही नभएसम्म अत्यावश्यक काम बाहेक सम्पुर्ण काम बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरूले कुनै कर्मचारी गल्ती भए सम्बन्धित निकायले कारबाही गर्ने बताएका छन् । तर कार्यालयमा आएर कामकाज प्रभावित गर्नेगरी हुलहुज्जत गरेर कर्मचारीलाई दुर्व्यवहार गर्नु, दर्ता-चलानी रजिष्टर खोस्नु  गलत रहेकोले दोषीमाथि कारबाही नभएसम्म कामकाज गर्ने बताएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले केही व्यक्तिहरूले कार्यालयको काम-कारबाही प्रभावित पार्न सुनियोजित दर्ता चलानीको बहाना बनाएर कार्यालयमा हुलहुज्जत र कर्मचारीहरूलाई दुर्वयवहार गरेको आरोप लगाउँदै दोषीमाथि कारबाही नभएसम्म अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम गर्ने बताए ।

'कर्मचारीले कुनै गल्ती गरेको थियो भने कारबाही गर्ने सम्बन्धित निकाय हुँदाहुँदै कार्यालयमा दादागिरी शैलीमा हुलहुज्जत गर्नु, दर्ता चलानी रजिष्टर खोस्नु गलत हो,' उनले भने, 'आफूहरूले मेयरसाहेबलाई जानकारी गराएपछि उहाँले साम्य पार्न खोज्दा समाधान हुन नसकेन । अब यहाँ कर्मचारीलाई काम गर्ने वातावरण नबनेसम्म र दोषीमाथि कारबाही नभएसम्म कामकाज बन्द गर्नेछौँ ।'

माघ महिनापछि पछिल्ला हाकिम गएपछि कर्मचारीले क्लोज गर्ननपाएको उनले बताए। 'कुनै पानामा खाली हुन सक्ला । तर त्यो ठूलो कुरा होइन,' उनले भने, 'कार्यालय प्रयोजनका लागि केही लाइन खाली छोडनुपर्छ। तर विवाद त्यो होइन । व्यक्तिगत स्वार्थ पुरा गर्न केही व्यक्तिले आफ्नो हैकमवादी देखाउन खोजेको मात्र हो ।'

कार्यपालिकामा फरक पार्टीका जनप्रतिनिधिको बहुमत भएका कारण पटक पटक योजनाको विषयमा विवाद हुँदै आएको छ । अघिल्लो कार्यकालमा पनि कांग्रेसका मेयर र वर्तमान मेयर पनि कांग्रेसकै भएकोले विवाद हुँदै आएको छ । नगरपालिकाको १९ सदस्यीयकार्यपालिकामा एमालेको बहुमत छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x