कोशी

संखुवासभामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुखका उम्मेदवार

बाबुराम भण्डारी |
बैशाख ९, २०७९ शुक्रबार १२:६ बजे

विराटनगर– वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन संघारमा आइपुग्दा दलहरुले उम्मेदवार टुंगो लगाउने क्रम तीव्र पारेका छन् । संखुवासभा जिल्लाको सबै पालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुखहरुको नाम टुंग्याएको दाबी गरेको छ । प्रमुख र उपप्रमुखको नाम टुंगो लागेसँगै प्रदेश १ मा संखुवासभा सवैभन्दा पहिले प्रमुख र उपप्रमुखको नाम टुंग्याउने जिल्ला बनेको हो ।

नगर-गाउँ हुँदै जिल्ला कमिटीको सिफारिसमा एमाले प्रदेश कमिटीले सबै पालिकाका प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको जनाइएको छ। एमाले प्रदेश कमिटीलाई नगरपालिका र गाउँपालिकाको प्रमुख उपप्रमुख टुंग्याउने कार्यादेश रहेको छ । प्रदेश कमिटीले भने त्यो जिम्मेवारी पाँच सदस्यीय पदाधिकारीलाई दिइसकेको छ । 


एमालेले संखुवासभाको पाँच नगरपालिका र पाँच गाउँपालिका गरी १० वटै स्थानीय तहमा प्रमुख र उपप्रमुखहरु नाम टुंगो लगाएको जानकारी प्रदेश कमिटीमा आएको नेकपा एमाले संखुवासभाका अध्यक्ष जीत बहादुर घिमिरेले बताए । उनले उम्मेदवार टुंगो लागेका कारण अब उम्मेदवारहरुसहितको चुनावी प्रचार–प्रसार अभियान अघि बढाउन बाटो खुलेको बताए ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका अनुसार संखुवासभाको पाँच नगरपालिकाहरु मध्ये सदरमुकाम खाँदवारीको मेयर पदमा जिल्ला अध्यक्ष रहेका घिमिरे र उपमेयरमा महेश्वरा बज्राचार्यको नाममा सहमति जुटाएको जनाइएको छ । मेयरको टिकट पाएका घिमिरे तत्कालीन खाँदवारी गाविसको उपाध्याक्ष भएर जनप्रतिनिधिका रुपमा काम गरेका व्यक्ति हुन् ।

एमालेले पाँचखपन नगरपालिकाको मेयरमा हिन्दुकुमार राई र उपमेयरमा अनिता नेउपाने, चैनपुर नगरपालिकाको मेयरमा कृष्णकुमार तामाङ र उपमेयरमा एलिना श्रेष्ठ, मादी नगरपालिकाको मेयरमा जीवन लिङ्थेप र उपमेयरमा सुनिता दाहाल र धर्मदेवी नगरपालिकाको मेयरमा उदयचन्द्र पौडेल तथा उपमेयरमा लक्ष्मी गिरीको नाम टुंगो लागेको जनाइएको छ । धर्मदेवीको मेयरमा नाम टुंगो लागेका पौडेल यसअघि सोही नगरपालिकाको वडा नं. ५ का वडाध्यक्ष हुन् । 

त्यसैगरी एमालेबाट संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा वाङ्छेदर लामा र उपाध्यक्षमा सहाना लामालाई टिकट दिने टुंगो लगाएको छ । प्रदेश कमिटी स्रोतका अनुसार मकालु गाउँपालिकाको अध्यक्षमा भरत कटुवाल र उपाध्यक्षमा चमेली राई, चिचिला गाउँपालिकाको अध्यक्षमा रामबहादुर गुरुङ र उपाध्यक्षमा बिष्णुमाया राईको नाम टुंगो लगेको जनाइएको छ । सिलिचोङ गाउँपालिकाको अध्यक्षमा खड्गनन्द राई र उपाध्यक्षमा मेनका राई र सभापोखरी गाउँपालिकाको अध्यक्षमा रत्नकुमार सुब्बा र उपाध्यक्षमा सविता कालाखेतीको नाममा सहमति जुटेको जनाइएको छ ।

मकालुमा उपाध्यक्षमा सर्वसम्मत भएकी राई नेकपा एमालेबाट दोस्रो कार्यकालका लागि दोहोरिन लागेकी हुन् । त्यसैगरी रत्न सुब्बा सभापोखरीमा दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित भएको एमाले संखुवासभाका अध्यक्ष घिमिरेले जानकारी दिए ।

‘एमाले अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको पार्टी हो, हामीलाई जनतामा जान कुनैपनि समस्या छैन’ अध्यक्ष घिमिरेले भने, ‘अब हामीलाई जनतामा जान बाटो खुलेको छ, वडा तहसम्मै संगठन बनिसकेको छ, त्यसलाई परिचालन गरेर अघि बढ्नुपर्छ, एमालेले जनबलबाटै सत्ता स्थापित गर्दैछ ।’

शुक्रबार बिहानसम्म प्रदेश १ का १३७ वटा स्थानीय तहहरु मध्ये एक महानगर र दुईवटा उपमहानगरपालिका बाहेक ९० वटा स्थानीय तहको प्रमुख र उपप्रमुख टुंगो लागेको एमाले स्रोतले दाबी गरेको छ । एमाले प्रदेश कमिटीको पदाधिकारी बैठक विराटनगरमा जारी छ । बैठकले जिल्लाबाट आकांक्षीहरु र पार्टी नेतृत्वलाई बोलाएर राय लिने र नाम टुंगो लगाउने काम गरिरहेको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x