कोशी

कोशी प्रदेशमा प्रत्येक कृषक परिवारको दुई कित्ता जग्गा

१० वर्षमा कृषि यान्त्रिकरण झण्डै दोब्बर

बाबुराम भण्डारी |
कात्तिक १६, २०८० बिहीबार १४:४ बजे

विराटनगर- कोशी प्रदेशका ७ लाख ८६ हजार १०८ कृषक परिवारसँग दुई कित्ता बढी जग्गा रहेको पाइएको छ । कृषक परिवारको नाममा १७ लाख १९ हजार ६९२ वटा कित्ता जग्गा रहेकोमा त्यसको क्षेत्रफल ५ लाख ३२ हजार ९३७ हेक्टर रहेको सातौं राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदन अनुसार प्रतिकृषक परिवार २ दशमलव २ वटा कित्ता संख्या हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कोशी प्रदेशमा ६६ प्रतिशत र मोरङ जिल्लामा ५३ दशमलव ४ प्रतिशत कृषक परिवार रहेको जनाइएको छ । कृषि गणनाले कोशी प्रदेशमा ५३ दशमलव ५ कृषि योग्य जमिन सिञ्चित क्षेत्र रहेको देखाएको छ । जसमध्ये मोरङमा मात्रै ८२ दशमलव ८ कृषि योग्य जग्गामा सिँचाइ सुविधा रहेको भर्खरै सार्वजनिक भएको कृषि गणना प्रतिवेदनमा उल्लेख छ । 


कोशी प्रदेशमा धान, मकै, गहुँ बालीको क्षेत्रफल घटेको तर तरकारी र माछा पालनको क्षेत्रफल बढेको जनाइएको छ । कोशी प्रदेशमा एउटा जग्गामा लगाउने बालीको सघनता १ दशमलव ९१ प्रतिशत रहेको छ । ३० वर्ष अघि २०४८ सालमा कोशी प्रदेशमा बाली सघनता १ दशमलव ७८ रहेको तथ्यांक कार्यालय मोरङका निर्देशक सुवास अधिकारीले जानकारी दिए ।

त्यसैगरी मोरङ जिल्लामा २ लाख ८९ हजार ०१४ कित्ता जग्गा कृषक परिवारको नाममा रहेको र प्रतिपरिवार कित्ता संख्या २ वटाका दरले पर्ने गणनाको प्रतिवेदनमा उल्लेख छ । मोरङमा १ लाख ४५ हजार ३१८ कृषक परिवारले ९८ हजार २३३ हेक्टर जग्गामा कृषि कार्य गर्दै आएको कृषि गणनाको तथ्यांकमा उल्लेख रहेको अधिकारीले बताए ।

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवार रहेको जनाइएको छ । उनीहरूले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको पाइएको हो । यो तथ्यांकले नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको देखाएको हो । १० वर्षअघिको गणनाले कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । 

२०६८ को कृषि गणना अनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ कृषक परिवार रहेको तथ्यांक कार्यालयले जनाएको छ । उनीहरूले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको पाइएको थियो । 

राष्ट्रिय तथ्यांक कार्यालयले वि.सं. २०१८ देखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको जनाएको छ । कार्यालयले पछिल्लो पटक २०७८ चैत्र १ गतेदेखि देशका ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्यांक संकलन गरेको थियो । त्यसको प्रतिवेदन भर्खरै सार्वजनिक भएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायले बताए । 

उनले तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यसहित कृषि गणना सम्पन्न गरेर त्यसको प्रदेशगत र जिल्लागत प्रतिवेदनहरू सार्वजनिक गर्न सुरु गरिएको जानकारी दिए । 

‘कार्यालयले देशभरका ३ लाख ३० हजार ११२ वटा कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण संकलन गरेर यो प्रतिवेदन तयार पारेको हो,’ रायले भने, ‘विगतमा जिल्लास्तरसम्मको कृषि तथ्यांक मात्रै प्रकाशन हुँदै आएको थियो, तर हामीले यस पटकको गणनादेखि देशभरका ७५३ वटै पालिकाहरूको पालिकागत कृषि तथ्यांक सार्वजनिक गरेका छौं ।’ 

कृषि गणनाका लागि कार्यालयले ५ हजार १५० गणक, १ हजार ३५० सुपरीवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरूसहित करिब ७ हजार २०० कर्मचारीहरू परिचालन गरेको जानकारी उनले दिए । 

कृषि यान्त्रिकरण झण्डै दोब्बर 

कृषि गणना अनुसार नेपालमा १० वर्षको अवधिमा कृषि यान्त्रिकरण दोब्बरले बढेको छ । २०६८ को गणना अनुसार ८ लाख ४५ हजार कृषक परिवारले आफ्नो कृषि कार्यमा ट्याक्टर प्रयोग गरेकोमा २०७८ मा यस्ता कृषक परिवारको संख्या दोब्बर नजिक १६ लाख ३९ हजार पुगेको हो ।

२०६८ मा नेपालमा कृषक परिवारसँग ३७ हजार ट्याक्टर रहेकोमा २०७८ मा ५८ हजार पुगेको देखाएको छ । २०७८ को गणनामा नेपालभर जम्मा ४ लाख ७१ हजार अर्थात् ११ प्रतिशत कृषक परिवारले पावर ट्रिलर वा मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ । 

छैठौं कृषि गणना २०६८ अनुसार भने नेपालभर जम्मा ७६ हजार अर्थात् २ प्रतिशत कृषक परिवारले मात्रै पावर ट्रिलर वा मिनी ट्रिलर प्रयोग गरेका थिए । त्यसैगरी २०६८ मा बाली झाँट्ने मेसिन (थ्रेसर) को प्रयोग गर्ने कृषक परिवार ८ लाख ८ हजार थिए । 

उक्त गणनाको दिन कृषकसँग जम्मा ५२ हजार वटा यस्ता औजारहरू रहेकोमा २०७८ को गणनाको दिन १ लाख १५ हजार छन् । १० वर्षपछि नेपालमा थ्रेसर प्रयोग गर्ने कृषक परिवारको संख्या ११ लाख ७५ हजार रहेको जनाइएको छ । 

घट्यो फलामे हलोको प्रयोग

कृषि गणना २०६८ को प्रतिवेदन अनुसार नेपालमा १० लाख ७३ हजार अर्थात् २९ प्रतिशत कृषक परिवारले आधुनिक फलामे हलो प्रयोग गरेकोमा त्यो संख्या २०७८ मा घटेको पाइएको छ ।

२०७८ को कृषि गणना अनुसार कृषक परिवारसँग जम्माजम्मी फलामे हलोको संख्या ८ लाख ५६ हजार रहेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x