कोशी

जसले मुख्यमन्त्री बनाउनु भयो वहाँको एजेण्डा मैले पालना गर्नुपर्छ : मुख्यमन्त्री कार्की

बाबुराम भण्डारी |
कात्तिक १४, २०८० मंगलबार १७:५० बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले सहयोग गरेको छ, उसैको एजेण्डा आफूले पालना गर्ने बताएका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ३९ जना सांसदहरूको समर्थनमा न्यूनतम् बहुमत ४७ पुर्‍याएर संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्त भएका कार्कीले सरकार विस्तारमा पनि एमालेकै एजेण्डा पालना गर्ने बताएका हुन् ।

राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेशको कृषि गणना नतिजा सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले एमालेकै एजेण्डा अनुसारको कोशीमा सहमतीय सरकार गठन हुने बताए ।


‘मलाई जसले मुख्यमन्त्री बनाउनु भयो वहाँको एजेण्डा मैले पालना गर्नुपर्छ, म भन्दा अगाडिको मुख्यमन्त्रीले मलाई सहमतीय सरकारको एकदमै धेरै जोड गर्नु भएको थियो, वहाँले त्यो अवसर प्राप्त गर्न सक्नुभएन,’ मुख्यमन्त्री कार्कीले भने, ‘वहाँकै एजेण्डाले त्यो अवसर प्राप्त गर्न पुग्ने अभियानमा छु, त्यो बाचा मैले पूरा गर्नुपर्छ ।’ 

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बन्न जसले सहयोग गरेको हो उसको कुरा मान्नु आफ्नो दायित्व भएको बताए ।

उनले सरकार विस्तारमा ढिलाई नभएको दाबी पनि गरे । सरकार गठन लगत्तै दसैँको बिदा सुरु भएकोले ढिलाई मान्न नहुने तर्क गरे । आफूले सानो आकारको मन्त्रिमण्डल बनाउने पक्षमा रहेको बताए । 

‘अलिकति ढिलो भएको हो, हामी छिट्टै यसलाई पूरा गर्छौँ, बिदा कटाउँदा त ढिला पनि भएको छैन, बिदालाई पनि सकारात्मक रूपले हेरौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘बिदाको समयमा पनि मन्त्री र मन्त्रीको सचिवालयले लाने अलिकति पैसा त बच्यो नि त, गाडी बच्यो, पेट्रोल बच्यो, धेरै कुरा बच्यो, मन्त्रालयको काम पनि त रोकिएको छैन ।’ 

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा एमालेसहित केही अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुराको संकेत गरे ।

कांग्रेसका २९ जना प्रदेश सभा सदस्यहरू मध्ये डा. शेखर कोइरालानिकट ८ जनाको समूहको नेतृत्व गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले भने, ‘कसैले केही लेख्छ भने कलममात्रै भएर भएन, कापी पनि चाहियो, लेख्ने साधन त चाहियो, कमल कापी दुईवटै साधन प्रयोग गर्यो भने मात्रै अक्षर बन्छ, अक्षरबाट शब्द निस्किएला, शब्दबाट अर्थ निस्किएला, त्यसकारणले लेख्ने कमललाई पनि सामेल गराउने कोसिस गरेको हो ।’ 

मुख्यमन्त्री कार्कीले चाँडै मन्त्रिमण्डल विस्तार भएर बजेट प्रतिस्थापन विधेयक पनि समयमै आउने दाबी गरे । आफू नेतृत्वको सरकारले प्रदेशमा जनसेवा, जनअधिकारको सुरक्षा, समृद्धि सँगै सुशासनमा लाग्ने घोषणा गरे ।

उनले यो सरकार स्थिर सरकार भएकोले सरकारले सुशासनमा कमजोर नहुने दाबी गरे । मुलुकको कृषि क्षेत्रको अवस्थाबारे पत्रपत्रिका र सामाजिक सञ्जालमा आएजस्तो अवस्था नरहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । 

उनले दैनिक रूपमा धेरै जनशक्ति विदेश गएपनि राष्ट्रिय कृषि गणनाले देशको कृषि क्षेत्रमा धेरै विकास भइरहेको देखाएको बताए । सरकारले कृषि क्षेत्रको विकासका लागि बाली अनुसारको उत्पादन क्षेत्र छुट्याउँदै जाने बताए । 

मुलुकमा पहिलो चरणमा उत्पादन, त्यसपछि उत्पादनमा आत्मनिर्भरता र अन्तिममा निर्यातमा ध्यान दिने कृषि नीति आवश्यक रहेकोमा मुख्यमन्त्री कार्कीले जोड दिए । उनले मुलुक बनेर भनेर आलोचना हुने गरेको प्रति असन्तुष्टि जनाउँदै भने, ‘भएको बिउ मासेर सडकमा नारा लगाउन सबैलाई सजिलो हुन्छ, सरकारले केही गरेन भनेर भेल्यू बाजे जस्तो भाइरल हुन खोज्नेहरू धेरै छन् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x