कोशी

देशका सामुदायिक विद्यालयमा अझै ५३ हजार बढी शिक्षक अपुग

बाबुराम भण्डारी |
बैशाख १८, २०८० सोमबार १९:२४ बजे

सांकेतिक तस्बिर

विराटनगर- परीक्षाको नजितालाई हेरेर शिक्षक शिक्षिकाहरूको कार्यक्षमता र योग्यतामाथि प्रश्न उठ्ने गरेको परिप्रेक्ष्यमा मुलुकको सामुदायिक शैक्षिक क्षेत्रमा अझै पनि ठूलो संख्यामा शिक्षकहरूको अभाव रहेको पाइएको छ ।

विद्यार्थी अनुपातमा अहिले पनि ५३ हजार १५८ जना शिक्षकको अपुग रहेको शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रकै तथ्यांक छ । सामुदायिक विद्यालयमा कायम रहेको विद्यार्थी अनुपातमा यति धेरै संख्यामा शिक्षक आवश्यक रहे पनि नयाँ शिक्षक नियुक्ति र भएका शिक्षकहरूको क्षमता विकासतर्फ पनि खासै योजना र कार्यक्रम बनेको पाइएको छैन ।


शिक्षक सेवा आयोगले बर्सेनि केही हजार शिक्षक नियुक्तिका लागि आवेदन माग गर्दै आएको छ । तर, विद्यार्थीको अनुपातमा शिक्षकको अभाव ठूलो रहेको छ । शिक्षक अभावले सामुदायिक शिक्षामा प्रत्यक्ष असर पुर्‍याएको छ भने शैक्षिक वातावरण पनि भित्रभित्रै जर्जर बन्दै गएको शिक्षा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।

मुलुकभर माध्यमिक तहमा २४ हजार ८३५, निम्न माध्यमिक तहमा २४ हजार ४०१ र प्राथमिक तहमा ३ हजार ९२२ जना शिक्षक अभाव रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । 

संविधान अनुसार शिक्षालाई स्थानीय तह मातहतमा राखिए पनि अपुग भएकाे शिक्षक दरबन्दी व्यवस्थापनमा स्थानीय तहहरू तयार हुन नसक्दा शिक्षा क्षेत्र प्रभावित बन्दै गएको जनाइएको छ । अधिकारीका अनुसार नेपालको समग्र शिक्षा क्षेत्रको बजेटमै प्रत्येक आर्थिक वर्षमा कुनै न कुनै रूपमा संकुचन आइरहेको छ ।

नेपालमा हाल शिक्षा क्षेत्रको बजेटमा ८६ प्रतिशतमात्रै नेपाल सरकारको योगदान रहेको छ भने बाँकी बजेट विभिन्न वैदेशिक संघ संस्था तथा दातृ निकायहरूबाट प्राप्त अनुदान र ऋणबाट धानिँदै आएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले बताए ।

१० आर्थिक वर्षको बजेट तुलना अनुसार मुलुकको समग्र सामुदायिक शिक्षा क्षेत्रमा बजेट घट्दै गएको जनाइएको छ । यद्यपि सरकारले प्राविधिक धारका विद्यालयको विकासका लागि भने हरेक वर्ष सहयोग बढाउँदै लगेको जोशीले जानकारी दिए ।

नेपालमा हाल ५४६ वटा प्राविधिक धारका विद्यालय रहेकोमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा यस्तो विद्यालयको विकास गर्ने लक्ष्य अझै पूरा नभएको जनाइएको छ । अझै पनि ९८ वटा स्थानीय तहमा प्राविधिक धारको अध्ययन अध्यापन हुन नसकेको उनले बताए ।

त्यसैगरी ४२२ वटा नमूना विद्यालय, ३४ वटा विशेष विद्यालय, ३८० वटा विशेष शिक्षा स्रोत केन्द्र, एक हजार २९४ वटा परम्परागत धार्मिक विद्यालय, आधारभूत र माध्यमिक गरी कुल १२१ वटा खुल्ला विद्यालय रहेका छन् । तर, खुल्ला विद्यालयको शैक्षिक प्रगति मापन पनि नाजुक रहेको छ ।

मोरङमा खुल्ला विद्यालय कार्यक्रम अन्तरगत नै यस वर्षको एसईई परीक्षामा सयौंको संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरू मध्ये १६७ जना नक्कली परीक्षार्थीहरूलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी मुद्दा नै चलाउनु परेको छ । पक्राउ परेका सबै नक्कली विद्यार्थी जिल्ला अदालत मोरङको आदेशमा जनही ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x