कोशी

प्रदेश १ : एमाले १२, कांग्रेस ७ र माओवादी केन्द्रलाई ५ ठाउँमा अग्रता

बाबुराम भण्डारी |
मंसिर ७, २०७९ बुधबार ११:४४ बजे

फाइल तस्वीर

विराटनगर - प्रदेश १ का २८ वटा संघीय निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले एक सिटमा जित निकाल्दै थप १२ वटा क्षेत्रमा अग्रता कायम गरेको छ । सत्ता गठबन्धनबिच सिट बाँडफाँट हुँदा १९ सिट लिएको नेपाली कांग्रेसले भने ७ ठाउँमा मात्रै अघि देखिएको छ ।

७ सिट पाएको माओवादी केन्द्रले ५ वटा क्षेत्रमा अग्रता कायम गरिरहेको छ । राप्रपाले झापा–३ मा, राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी २ र एमाले–जसपा गठबन्धनका बागी स्वतन्त्र उम्मेदवारले मुख्य दलका उम्मेदवारलाई अघि बढ्न दिएका छैनन् । गठबन्धनमा प्रदेश १ मा २ सिट पाएको नेकपा (एकीकृत समाजवादी) ले उदयपुर २ मा पराजय व्यहोरिसकेको छ भने इलाम १ मा उठेका झलनाथ खनाल पनि मतान्तरमा पछि परिसकेका छन् । प्रदेश १ मा अहिले २७ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ । १२ वटामा अग्रता लिएको एमालेले उदयपुर २ बाट अम्बरबहादुर रायमाझीको जित दर्ता गराइसकेको छ ।


रायमाझीले नेकपा (एस) का उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरेका छन् । प्रदेश १ को झापा २ मा देवराज घिमिरे, ४ मा एलपि साँवा र ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् । त्यस्तै इलाम १ मा महेश बस्नेत र २ मा सुवासचन्द्र नेम्वाङ अगाडि छन् । तेह्रथुममा डा. विजय सुब्बा, धनकुटामा राजेन्द्र राई, सोलुखुम्बुमा मानवीर राई, सुनसरी ३ मा भगवती चौधरी र ४ जगदिशप्रसाद कुसियैत अगाडि छन् ।

मोरङको १ मा धनश्याम खतिवडा र २ मा ऋषिकेश पोखरेलले अग्रता बढाउँदै लगेका छन् । कांग्रेस अगाडि रहेका क्षेत्रहरु झापा १ मा महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतान्तरका साथ जिततर्फ लम्किरहेका छन् । मोरङ ३ मा सुनिल शर्मा र ६ मा डा.शेखर कोइरालाले पनि प्रतिष्पर्धीलाई अघि बढ्न दिएका छैनन् । पाँचथरमा नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बे अगाडि छन् ।

संखुवासभामा कांग्रेसका दीपक खड्का, ओखलढुंगामा रामहरी खतिवडा, उदयपुर १ मा डा. नारायण खड्का अग्रता बढाइरहेका छन् । मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, सुनसरी १ मुक्सामहाङ सुब्बा, ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, खोटाङमा रामकुमार राई र भोजपुरमा सुदन किराँती अग्रता कायम गरिरहेका छन् । एमालेसँग गठबन्धन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौलालाई निकै पछि छाडेका छन् । त्यस्तै सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा र मोरङ ५ मा एमाले–जसपाका बागी उम्मेदवार योगेन्द्र मण्डलले समेत अग्रतालाई निरन्तरता दिइरहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x