कोशी

विराटनगर महानगर : कांग्रेसका कोइराला जितनजिक, मत गन्न बाँकी हुँदै उपमेयरमा कार्की विजयी

बाबुराम भण्डारी |
जेठ ६, २०७९ शुक्रबार १९:५४ बजे

विराटनगर । विराटनगर महानगरपालिकाको १९ वडाहरुमध्ये गणना जारी रहेका चार वटाको पनि मतगणना पनि अन्त्यतिर पुग्न लाग्दा नतिजा नजिकिएको छ । मुख्य  निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार शुक्रबार बेलुका ७ बजेसम्म ८२ हजार ५२७ मत गणना सकिएको छ ।

विराटनगर महानगरपालिकामा अब ७ हजार २६२ मत गन्न बाँकी छ । प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरमा ८९ हजार ८९६ मत खसेको छ । मतगणना अन्त्यतिर पुग्न लाग्दा प्राप्त परिणामले मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराैला कार्कीको जित नजिक छन् । कोइरालाले २७ हजार २६४ मत प्राप्त गरेका छन् । कोइराला एमालेका मेयरका प्रत्यासी सागर थापाभन्दा ७ हजार १७५ मतले अघि छन् ।


एमालेका मेयरका उम्मेदवार थापाले २० हजार ८९ मत प्राप्त गरेका हुन् । गन्न बाँकी मत थापाकै पक्षमा हुँदा पनि उनको जित हुने सम्भावना अत्यन्तै झिनो देखिन्छ । उपमेयरमा त एमालेकी कार्कीले जितेसरह भएको छ । उनले २३ हजार ६३० मत प्राप्त गर्दा कांग्रेससँगको गठबन्धनमा उपमेयर लडेका जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले १३ हजार २३४ मत मात्रै पाएका छन् । कार्की र यादवको मतान्तर १० हजार ३९६ रहेको छ । गणना गर्न बाँकी ७ हजार बढि मत यादवकै पक्षमा खसेको अनुमान गर्दा पनि उनले जित्ने कुनै सम्भावना छैन ।

विराटनगरको जारी मतगणनाको प्राप्त परिणाम अनुसार १, २, ३, ४, ५, ७, ८, १२, १३, १४, १५, १६, १७, १८ र १९ गरी जम्मा १५ वटा वडाको मतगणना सकिएको छ । जसमा नेकपा एमालेले हालसम्म १, २, ३, ४, ८, १४ र १९ गरी ७ वटा वडामा वडाध्यक्षसहित जितेको छ । थप दुईवटा एमालेको अग्रता कायमै छ । त्यसैगरी नेपाली कांग्रेसले वडा नं. ५, ७, १५ र १६ गरी ४ वटा वडा जितिसकेको छ । कांग्रेसको पनि थप दुईवटा वडामा अग्रता रहेको छ । विराटनगर महानगरपालिकाले जनता समाजवादीले दुईवटा वडा जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक तथा स्वतन्त्र उम्मेदवारले एकवटा वडा जितेका छन् । महानगरको मत परिणाम आजै राती १२ बजेसम्म आउने अनुमान छ । मतगणनास्थल विराटनगर-७ स्थित आदर्श माविको अगाडि विभिन्न दल समर्थित नेता कार्यकर्ताहरुको उपस्थिति बढ्दै गएको छ । उनीहरुले आफ्नो दलको पक्षमा नाराबाजी गरिरहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x