राजनीति

‘गठबन्धनले फेरि पनि चुनाव भाँड्ने षड्यन्त्र गर्‍याे’

सरिता दाहाल |
बैशाख १८, २०७९ आइतबार १८:० बजे

मकवानपुर – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले फेरि पनि चुनाव भाँड्ने षड्यन्त्र गरेको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनको लागि पार्टीले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

`गठबन्धनले चुनाव हुन नदिएर दुई महिना पछाडि धकेलेको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरि हार्ने डरले षड्यन्त्र सुरु भएको छ` उनले भने ।


गठबन्धनको सरकारले भोटको लागि चुनावी आचारसंहिता लागेपछि अर्बौको स्वास्थ्य सामग्री किनेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै भने, 'गठबन्धनको सरकारले पनि काम गरेको छ नि जता हेरेनी मन्त्री, झण्डा, र मन्त्रालय छन् कति विकासै विकास छ` हेर्नुस् त । हेटौंडाको आमसभामा पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै उनले भने `मन्त्रीको सिक्रीले बाँधेकोले धेरै कार्यकर्ताहरु अहिले एमालेमा आउन चाहेर पनि बाँधिएका छन्, ति केही दिनमा आउने छन्, हामी स्वागत गर्नेछौ।'

कांग्रेसले आफ्नो घोषणा पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम आठ ठाँउमा प्रतिपक्षी पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको छ भन्दै उनले थप्दै भने, 'कांग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।'

उनले नेपाली कांग्रेसको देश बनाउने नीति नै नभएको बताए । उनले भने,'एमालेलाई गाली गर्ने र धारे हात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गाली गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौं ।'

उनले आसन्न स्थानीय तहको चुनाव सामान्य नभएको बताए । उनले भने,'यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडाईं हो, सामान्य चुनाव हैन, अहिले नेपालमा दुई मात्रै पार्टी छ त्यो एमाले र गठबन्धनमात्रै हो, देश जोगाउन एमालेभन्दा बाहेक अर्को पार्टी छैन ।'

नेकपा एमालेको शक्ति देखेर सात्तो गएपछि ५ दलले स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेको उनले बताए । 'एमालेसँग लड्नको लागि अरु पार्टी पनि भए गठबन्धनमा जान मैले गृह जिल्लामै भन्दिएको छु', उनले भने,'हामी जनताको विश्वासमा बोकेर हिडेका छौ, दलीय गठबन्धन बाँधेर हैन ।'

अध्यक्ष ओलीले हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको स्थापना र व्यवस्थापन कसरी गर्ने, कहाँ कहाँ संभावना छ हामी खोजि रहेको समेत बताए । गठबन्धनको सरकारले आर्थिक अवस्था नाजुक भएको भन्दै सातामा २ दिने बिदा दिन सुरु गरेको सन्दर्भमा ओलीले एमाले सरकार नेतृत्वमा आएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताए ।

उनले मेडिकल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र एमालेले योजना बनाएको समेत बताए । आमसभामा उनले हेटौंडाको राजमार्ग विस्तारको सवालमा पनि प्रसङ्ग उठाउन भ्याए । हेटौंडामा ४ दशक देखि विवादमा रहेको राजमार्ग विस्तारको बारेमा एमालेसँग स्पष्ट धारण भएको र हेटौंडाबासीलाई एमालेले न्याय गर्ने उनले बताए । विकास र सुशासनको लागि एमाले सँधै जनताको पक्षमा रहेको उनको दाबी थियो ।

हेटौंडाको समुचित विकासमा आफू सचेत रहेको उनले बताए । हेटौंडाको सुकुम्बासीको लागि गठबन्धनको सरकारले घात गरेको उनको आरोप छ । 'एमाले सरकारले घरबासको व्यवस्था गर्न ठिक्क परेको बेला जनताको बलमा हैन, अदालतको बलमा स्थापित भएको परमादेशको सरकारले जनतालाई घात गरेको हो', उनले भने । 


Author

थप समाचार
x