राजनीति

कर्णालीमा किन बढे उम्मेदवार ?

लक्ष्मी भण्डारी |
बैशाख १४, २०७९ बुधबार १७:३८ बजे

सुर्खेत – २०७४ को स्थनीय तहको निर्वाचनमा भन्दा यसपालिको  निर्वाचनमा कर्णालीमा धेरैले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार गएको निर्वाचनभन्दा यसपालि कर्णालीमा पाँच सय १० जना बढीले उम्मेदवारी दिएका हुन् ।

प्रदेशका ७९ पालिकामा विभिन्न पदमा १३ हजार बढीले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको मंगलवार साँझसम्मको अद्यावधिक विवरणअनुसार सो संख्यामा मनोनयन दर्ता भएको हो । प्रदेशभर प्रमुुख, अध्यक्ष, उपप्रमुुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी १३ हजार चार सय तीन जनाल उम्मेदवारी दिएका छन् । 


२०७४ को स्थानीय निर्वाचनमा १२ हजार आठ सय ९३ जनाको मनोनयन परेका थिए । त्यसमध्ये चार सय ८६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । तीन जनाको उम्मदवारी रद्द भएको थियो । आइतवार र सोमवार  दुई दिन भएको मनोनयन दर्तामा प्रमुुख पदमा दशवटै जिल्लामा एक सय ७६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, अध्यक्ष पदका लागि प्रदेशभर तीन सय आठ जनाले मनोनयन दर्ता गराएका छन् । उपप्रमुुख पदमा एक सय ६० र उपाध्यक्षमा दुुई सय ८८ जना उम्मेदवार बनेका हुन् । कर्णालीमा ५४ गाउँपालिका र २५ नगरपालिका रहेका छन् । प्रदेशभर सात सय १८ वटा वडा छन् । वडा अध्यक्षका लागि तीन हजार दुुई सय सात जनाको उम्मेदवारी परेको छ । वडाहरूमा दुुई हजार तीन सय २८ जनाले महिला सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । दलित महिला सदस्यमा भने एक हजार नौ सय ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेवार बढ्नुमा चेतना र राजनीतिक बदला लिन खोज्ने प्रवृत्तिले पनि अहिले उम्मेदवारहरु धेरै उठेको राजनीति विश्लेषकहरुको भनाइ छ । त्यसैगरी स्थानीय तहमा भएको श्रोत साधन तथा प्राप्त अधिकारप्रति अहिले सबैको आर्कषण बढेको उनीहरुको भनाइ छ ।  नजिकको सरकारको नेतृत्व गर्ने अवसर पाउने भएकाले धेरैको रोजाइमा परेको शिक्षक चन्द्रकला खत्री बताउँछिन् । ‘स्थानीय तहमा धेरै अधिकार दिएको छ र श्रोत साधन पनि त्यही छ’ उनी भन्छिन्, ‘श्रोत साधनको आफै परिचालन गर्न पाउने भएकाले पनि धेरैको रोजाइमा परेको हो ।’ 

राजनीतिक विश्लेषक पिताम्बर ढकालले चेतनाको विकास भएकाले पनि उम्मेदवारी दर्ताको संख्या धेरै भएको बताउँछन् । ‘यसमा एउटा स्थानीय तहमा भएको पावरको आर्कषण हो भने अर्काे चाँहि बदलाको भावनाले पनि यस्तो अवस्था आएको हो ’ ढकाल भन्छन्, ‘एक व्यक्ति चुनावमा उठ्यो र उसलाई हराउनको लागि पनि अर्काे व्यक्तिले उम्मेदवारी दिएको अवस्था छ ।’ मात्रात्मक रुपमा उमेदवारी बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले स्थानीय तह भनेको काम देखाउन सकिने स्थान र सबैलाई समेट्न सकिने रहेछ भन्ने कुरा बुझेपछि यसतर्फ आर्कषण भएको बताउँछन् । ‘लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएकोले पनि धेरै नेताहरु थुप्रिरहेका थिए’ उनी भन्छन्, ‘धेरै नेताहरु उत्पादन भए थुप्रिरहे यसले पनि प्रभाव पारेको हो ।’

कुन् जिल्लामा कति उम्मेदवार ?
नौ वटा स्थानीय तह रहेको सुुर्खेतमा दुुई हजार दुुई सय १३ जनाले जनप्रतिनिधिले लागि उम्मेदवारी दर्ता गराएको वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुर्खेतमा नगर प्रमुुखमा ४८, गाउँपालिका अध्यक्षमा २३, नगर उपप्रमुुखमा ४१ र गाउँपालिका उपाध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ । यहाँ पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् भने ९९ वटा वडा छन् । अन्य पालिकाको तुलनामा वीरेन्द्रनगरमा धेरै संख्यामा उम्मेदवारी परेको जनाइएको छ । यो नगरमा वडा र पालिकाका विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि बढी छ ।

 ११ वटा स्थानीय तह रहेको दैलेखमा एक हजार नौ सय ७८ जनाको उम्मेदवारी परेको छ दैलेखमा चार नगरपालिका र सात वटा गाउँपालिका छन् भने ९० वटा वडा रहेका छन् । नगर प्रमुुख पदमा २६ र गाउँपालिका अध्यक्षमा ५१ जनाको मनोनयन दर्ता भएको हो । दैलेखमा उपप्रमुुखमा २६ र उपाध्यक्षमा ३९ जनाले उम्मेदवारी दिएका छन् । 

त्यस्तै, सल्यानमा एक हजार ६ सय ५० जनाले स्थानीय तहको जनप्रतिनिधिमा मनोनयन दर्ता गराएको निर्वाचन आयोगको विरणमा छ । दश वटा स्थानीय तह रहेको सल्यानमा तीन नगरपालिका र सात गाउँपालिका छन् भने ८३ वटा वडा रहेका छन् । नगर प्रमुुख पदका लागि १५ र गाउँपालिका अध्यक्षमा ३७ जनाको उम्मेदवारी परेको छ । नगर उपप्रमुखमा १७ र उपाध्यक्षमा ३५ जनाले मनोनयन दिएका छन् । तीन गाउँपालिका र तीन नगरपालिका रहेको रूकुुम–पश्चिममा एक हजार ८१ जनाको उम्मेदवारी दर्ता भएको तथ्याङ्क छ । उक्त जिल्लामा नगर प्रमुुखमा २०, गाउँपालिका अध्यक्षमा १८, उपप्रमुुखमा १६ र उपाध्यक्षमा १२ जनाले उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा एक हजार तीन सय ४१ जनाले जनप्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ नगर प्रमुुखमा १५, अध्यक्ष १९, उपप्रमुुख १२ र उपाध्यक्षमा १९ जनाको मनोनयन परेको हो । यस्तै, डोल्पामा वडा र पालिकाका विभिन्न पदमा गरी सात सय १७ जनाले उम्मेदवारी दिएको त्यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा नगर प्रमुुखमा १२ र गाउँपालिका अध्यक्षमा पनि १२ जनाको उम्मेदवारी परेको छ । नगर उपप्रमुुखमा १५ र गाउँपालिका उपाध्यक्षमा १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जुुम्लामा एक हजार चार सय १६ जनाको उम्मेदवारी परेको छ । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यो जिल्लामा नगरप्रमुुखमा नौ, गाउँपालिका अध्यक्षमा ५०, नगर उपप्रमुुखमा आठ र गाउँपालिका उपाध्यक्षमा ५२ जनाले उम्मेदवारी दिएका छन् । तीन नगरपालिका तथा ६ गाउँपालिका रहेको कालीकोटमा एक हजार सात सय ३२ जनाले जनप्रतिनिधिका लागि उम्मेदवारी दिएको जनाइएको छ । विवरणअनुसार प्रमुुखमा २३, अध्यक्षमा ५३, उपप्रमुखमा १९ र उपाध्यक्षमा ४६ जनाले मनोनयन दर्ता गरेका छन् ।

एक नगरपालिका र तीन गाउँपालिका रहेको मुुगुुमा पाँच सय ८५ वटा मनोनयन दर्ता भएका छन् । नगर प्रमुुखमा आठ र गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुुखमा ६ र उपाध्यक्षमा १५ जनाले मनोनयन दिएका हुन् । नगरपालिकाविहीन रहेको हुुम्लाका सात वटा गाउँपालिकामा ६ सय ९० जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको विवरणअनुसार त्यहाँ अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयहरूमार्फत गरिएको हो । उम्मेदवारीमाथि दाबी बिरोधका लागि वैशाख १६ गतेसम्मको समय निर्धारण गरिएको छ । 


Author

थप समाचार
x