राजनीति

ओलीसँग त्रसित आयोगले कस्तो बनाउँदैछ मतपत्र ?

अतिन आचार्य |
चैत २३, २०७८ बुधबार ६:५० बजे

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मतपत्र छपाइ सुरु गरिसकेको छ । यतिखेर आयोगका कर्मचारीहरू मतपत्रको चिन्ह र डिजाइनमा व्यस्त छन् ।

यसपटक स्थानीय निर्वाचनको मिति सार्वजनिक भएसँगै मतपत्रको रंगलाई लिएर विवादीत बनेको छ । विवादीतको कारण बनेको थियो,' मतपत्रको रंग हरियो बनाउने ।' मतपत्रमा हरियो रंग राख्‍ने निर्णयप्रति प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै आपत्ति जनाइसकेका छन् ।


उनले एक महिनाअघि पार्टीनिकट महिला संघले आयोजना गरेको कार्यक्रममा आयोगलाई प्रश्न गर्दै भने, 'निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्‍ने भयो रे ।  किन राख्‍ने ? यदि हो भने कुन हिसाबले राख्‍ने ? यो धार्मिक हिसाबले राख्‍ने हो ? कुन हिसाबले राख्‍ने हो ?'

यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यसलाई सच्याउनुपर्ने बताएका थिए । उनले अगाडि थपे,' रुखै रुख देखुन् भनेर हरियो राख्‍ने हो ? हरियो हुँदैन ।' ओली निर्वाचनमा जनताको मन जित्न भन्दा पनि हरियो रंगप्रति त्रसित बने । उनको ध्यान त्यतिखेर रंगले मत परिणाममा प्रभाव पर्ने देखे ।

त्यसैगरी मंगलबार आयोगले निर्वाचन आचारसंहितामा प्रतिबद्धता जनाउन सबै दललाई बोलाएको थियो । एमाले बाहेक सबै दलले आचारसंहिता पत्रमा हस्ताक्षर गरेर फर्केका थिए ।

आयोगमा उपस्थित दलका एक नेताले भने', आचारसंहिता पत्रमा हस्ताक्षर नगर्नुमा एमालेलाई मात्र थाहा भएको होला । आयोगलाई घुर्की लगाएको हुन सक्छ ।' 

सार्वजनिक कार्यक्रममा ओलीले मतपत्रको विषयमा आपत्ति जनाएपछि निर्वाचन आयोगले पनि स्पष्टिकरण दिएको थियो । एमाले अध्यक्ष ओलीसँग डराएको जस्तो गरेर आयोगले भोलिपल्ट जवाफ फर्काएको थियो ।

संवैधानिक आयोगले आफ्नो काम स्वतन्त्र रुपमा गर्न पाउनुपर्थ्यो । तर, ओलीले आयोगलाई बोल्न बाध्य बनाए । बाध्य मात्र बनाएका छैनन् । अहिले मतपत्र छपाइमा समेत गाढा हरियो हुनुपर्नेमा फिक्का मधुरो बनाएर मतपत्र तयार गरिएको स्रोतले पुष्‍टि गरेको छ ।

सेतो काजगमा हरियो रङका चुनाव चिह्न मतदाता र गणकमैत्री भएकाले हरियो रङ्गसहितको मतपत्र बनाउने व्यवस्था गरेको आयोगले जनाएको थियो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिएका थिए ।

उनले भने, 'मतपत्र सङ्केत गर्ने मसी, निर्वाचन चिह्न, मतपत्रमा हुने रेखा र क्रमसङ्ख्या पनि नीलो भएका कारण मतदाताले गरेको मत सङ्केत स्पष्ट नभएको मात्र होइन, मतगणनामा सजिलो होस, मतपत्रमा गरिएको मत सङ्केत स्पष्ट देखियोस भन्ने मनसायले सेतो कागजमा हरियो निर्वाचन चिह्न, हरियो रेखा र हरियो क्रमसङ्ख्या राख्ने आयोगले निर्णय गरेको हो ।'

यतिखेर आयोगले जनक शिक्षा सामग्रीलाई मतपत्र छाप्न दिइसकेको छ । हिजोदेखि कर्णालीको स्थानीय तहहरूको मतपत्र छपाइ सुरु भएको छ । तर, नमूना मतपत्र छपाइमा रंगको सन्तुलन नमिलेकाले आयोग र जनक शिक्षा सामग्रीका कर्मचारीलाई सकस परेको छ ।

मतपत्रमा हरियो गाढा रंग भएकाले एमालको चुनाव चिन्ह 'सुर्य' मधुरो देखिएको आयोगका एक कर्मचारीले बताए ।

'मतपत्रमा गाढा हरियो रंग देखिएकाले मतपत्रमा हरियो रंग मिलाएर बनाउँदा फिक्का मधुरो बनेको छ,' उनले भने,' एमालेको सुर्य चिन्ह र ओलीसँग आयोग पूरै नरम छ ।'

नमूना मतपत्र छपाइको क्रममा हरियो रंग धेरै देखिएकाले फिक्का बनाउन आयुक्तहरूले आग्रह गरिएको स्रोतले बताएको छ । यसपटकको मतपत्र फिक्का हरियो देखिएको आयोग स्रोतले बतायो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x