राजनीति

स्थानीय तह निर्वाचन

तयारी अवस्थामा जनक शिक्षा सामग्री केन्द्र : एक घण्टामा डेढ लाख मतपत्र छापिने

आजदेखि नमुना मतपत्र छाप्‍न सुरु

अतिन आचार्य |
चैत १६, २०७८ बुधबार ८:५७ बजे

काठमाडौँ- स्थानीय तहको निर्वाचन आउन ४४ दिन बाँकी छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि जनक शिक्षा सामाग्री केन्द्र मतपत्र छाप्‍न तयारी अवस्थामा छ । निर्वाचन आयोगले मौखिक रुपमा तयारी अवस्थामा रहन भने पनि औपचारिक सम्झौता भने भइसकेको छैन ।

केन्द्रसँग मतपत्र छाप्‍न नौ वटा मेसिन छन् । प्रतिघण्टा एउटा मेसिनले १५ हजार मतपत्र छाप्‍ने केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए । उनका अनुसार एक घण्टाले नौ वटा मेसिनबाट १ लाख ३५ हजार मतपत्र छपाइ हुन्छ । विगतमा पनि जनक शिक्षा केन्द्रले मतपत्र छापेको थियो ।


आयोगले यही १६–१७ गतेबाट मतपत्र छाप्‍न मौखिक जानकारी गराए पनि हालसम्म लिखित रुपमा सम्झौता नभएको आचार्यले जानकारी दिए । उनले भने, ‘सम्झौता भएलगत्तै मतपत्र छाप्‍न सुरु गरिन्छ । हामी त तयारी अवस्थामै छौं ।’

जनक शिक्षा सामग्रीसँग मतपत्र छपाइका लागि पर्याप्त कर्मचारी रहेको आचार्यले जानकारी दिए । सेक्युरिटी प्रेसमा काम गर्ने छुट्टै कर्मचारीले मतपत्र छपाइको काम गर्नेछन् । नम्बरिङ, प्याकिङ र ब्यान्डिङको सम्पूर्ण काम सेक्युरीटी प्रेसका कर्मचारीले गर्नेछन् ।

मतपत्रको साइज अनुसार शुल्क निर्धारण हुने पनि उनले जानकारी दिए । एकै किसिमका मतपत्र बनाउनु परेमा मूल्य सस्तो पर्न जानेछ  । तर, जिल्ला–जिल्लामा दल दर्ता संख्या फरक–फरक छ । उनका अनुसार, दलहरूको चिन्ह बढी र कम हुने हुनाले मूल्यमा फरक पर्न सक्छ । थोरै दल भएका जिल्लाका मतपत्र छपाइमा कम मूल्य पर्नेछ । कुन–कुन, शैली र आकारमा छाप्‍ने भएपछि मात्र मतपत्रको मूल्य निर्धारण हुनेछ ।

आयोगबाट २ करोड मतपत्र छाप्‍न मौखिक जानकारी आएको छ । उनले भने, ‘मतपत्र छाप्‍न सुरु गरेको दिनदेखि २० दिनमा सबै मतपत्र छापिसकेर आयोगलाई बुझाउने छौँ ।’ मतपत्र छपाइको स्थान नेपाली सेनाको नियन्त्रणमा रहने उनले जानकारी दिए । उनका अनुसार, मतपत्र कति छपाइ भयो त्यसको सम्पूर्ण जानकारी निर्वाचन आयोग र नेपाली सेनाले जानकारी दिनेछ । जनक शिक्षाले व्यवस्थापकीय जिम्मा मात्र लिने हो ।

मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा हुने उनले जानकारी दिए । उनका अनुसार, मतपत्र छपाइस्थल वरिपरि सिसिटिभी क्यामेरा पनि जडान गरिनेछ । कति संख्यामा सिसि क्यामेरा राख्ने र कुन स्थानमा राख्‍ने सबै सुरक्षाकर्मीले जिम्मा लिनेछन् ।

आजदेखि नमुना मतपत्र छाप्‍न सुरु

निर्वाचन प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आजदेखि नमुना मतपत्र छाप्‍न सुरु गर्ने जानकारी दिए । नमुना मतपत्रको १२ बजेसम्म डिजाइन टुंगो लगाएर आजदेखि मेसिनको परीक्षण गरिने उनले बताए । उनका अनुसार १७ गतेबाट देशभरका सबै मतदाताका लागि मतपत्र छापिन थालिन्छ । 'दुई दिनभित्रमा सबै मतपत्र छापिसक्छ,' उनले इकागजसँग भने,' नमुना मतदानका लागि अहिले दुई लाख मतपत्र छापिन्छ ।'

आयुक्त थपलियाले मतपत्र छपाइका लागि साइज अनुसार खर्च लाग्‍ने बताए । करिब २ करोड मतपत्र छाप्‍ने गरी तयारी भइरहेको उनको भनाइ छ ।

जिल्लाको मतदाता अनुसार मतपत्र छापिन्छ', उनले भने,'  कुनै ठाउँमा बढी हुन्छन् । केही ठाउँमा कम पनि हुन्छन् । '

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x